हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा रहेको नेपाल टेलिकमको फोरजी टावर बिग्रिएको एक महिना पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन्। लामो समयदेखि सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक समस्यामा छन्।
टावरमा समस्या आएपछि नेपाल टेलिकमले सुर्खेतबाट इन्जिनियरसहितको प्राविधिक टोली पठाए पनि आवश्यक सामग्री तथा उपकरण नपुगेका कारण टावर मर्मत हुन नसकेको नेपाल टेलिकमका सुचना अधिकारी रामबहादुर बोहोराले बताए।
उनका अनुसार सुर्खेतबाट आएको प्राविधिक टोलीले टावरको अवस्था हेरेर फर्किएको छ। आवश्यक सामान उपलब्ध नभएकाले मर्मतको काम पूरा हुन नसकेको र गाडीमार्फत सामान मगाइएकोले अबको केही दिनमा टावर सञ्चालनमा ल्याउने तयारी भइरहेका उनको भनाइ छ।बोहोराका अनुसार आवश्यक सामग्री व्यवस्थापन गरी केही दिनभित्रै पुनः प्राविधिक टोली च्याम पठाउने तयारी भइरहेको छ। यसअघि, टेलिकमले लामो समयसम्म घाम नलाग्दा सोलारमा प्रयाप्त पावर नउठेका कारण टावर सञ्चालनमा समस्या आएको बताएको थियो। तर एक महिना पुग्दासमेत सेवा सुचारु नहुँदा पावरको समस्या नभइ सामाग्रीकै समस्या देखिएको छ।








