काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधि र अभिव्यक्तिमाथि टिप्पणी गर्दै कडा प्रतिक्रिया दिएका छन्। उनले यदि पूर्वराजा शाहलाई राजनीति गर्न मन लागेको हो भने लोकतान्त्रिक प्रणालीअनुसार पार्टी खोलेर चुनाव लड्न आग्रह गरेका छन्।
शनिबार आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, “राजालाई यदि राजनीति नै गर्न मन लागेको हो भने पार्टी खोले हुन्छ, किनभने नेपाली जनताले उदारतापूर्वक उनलाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएका छन्। तर यदि उनले हाम्रो उदारतालाई कमजोरी सम्झेर राजनीति गर्न खोजेका हुन् भने, उनलाई संविधानले दिएको अधिकार अनुसार पार्टी खोलेर चुनाव लड्न आउन सक्छन्। चुनाव जिते हुन्छ।”
उनको यो भनाइ पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका, निरन्तर राजनीतिक सन्देश दिइरहेका, र राजसंस्थाको पुनःस्थापनाबारे चर्चा गर्दै आइरहेका सन्दर्भमा आएको हो।
प्रचण्डले नेपाली जनताले २०६२/६३ को जनआन्दोलनमार्फत राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको स्मरण गराउँदै, कुनै पनि व्यक्तिले लोकतान्त्रिक प्रक्रियाबाहिर गएर सत्ता कब्जा गर्ने सपना नदेख्नु पर्ने बताए।
“हामीले दिएको उदारतालाई कमजोरी सम्झेर यदि कोही अलोकतान्त्रिक बाटो रोज्न खोज्छ भने, त्यो स्वीकार्य हुने छैन। नेपालमा संविधान र कानुनको शासन छ, त्यसैले जोसुकैले त्यसै अनुसार चल्नुपर्छ। लोकतन्त्रमा भाग लिन चाहनेहरूले पार्टी खोल्न सक्छन्, चुनाव लड्न सक्छन्, तर गणतन्त्रलाई चुनौती दिने कुनै गतिविधि सह्य हुने छैन,” उनले भने।
पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्ला वर्षहरूमा सक्रिय रूपमा सार्वजनिक कार्यक्रमहरूमा उपस्थित हुँदै आएका छन्। उनले विभिन्न कार्यक्रममा दिएको अभिव्यक्तिहरूबाट राजनीतिक वृत्तमा तरंग उत्पन्न हुने गरेको छ। केही समयअघि एक कार्यक्रममा उनले “जनताले चाह्यो भने म जिम्मेवारी लिन तयार छु” भन्ने अभिव्यक्ति दिएका थिए, जसलाई कतिपयले गणतन्त्रप्रति अप्रत्यक्ष चुनौतीको रूपमा व्याख्या गरेका थिए।
नेपालमा पछिल्लो समय गणतन्त्र समर्थक र राजतन्त्र पुनस्र्थापनाका पक्षधरहरूबीच बहस चर्किएको देखिन्छ। सामाजिक सञ्जालमा राजसंस्थाको पुनःस्थापनाको माग गर्ने समूहहरू सक्रिय छन् भने गणतन्त्र पक्षधरहरू यसलाई लोकतान्त्रिक व्यवस्थामाथि चुनौतीको रूपमा लिइरहेका छन्।
उनले प्रचण्डको पछिल्लो टिप्पणीलाई गणतन्त्रको मजबुतीका लागि सरकारको स्पष्ट सन्देशका रूपमा हेरिएको छ। अब पूर्वराजा शाहले कसरी प्रतिक्रिया दिनेछन् भन्ने हेर्न बाँकी छ ।






