काठमाडौं, साउन १७, २०८२ — मुनलाइट सोसाइटी नेपालले आफ्नो पहिलो साधारण सभा आज काठमाडौंको रानीबनस्थित सिनाबोन क्याफेमा भव्य रूपमा सम्पन्न गरेको छ। बिहान १० बजेबाट सुरु भएको कार्यक्रममा ३५ जना सदस्यहरूको उपस्थितिमा सभाको औपचारिक सुरुवात गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा भिमसेनथापा गाउँपालिकाकी उपाध्यक्ष अमृता बस्तीको उपस्थिति रहेको थियो भने, विशिष्ट अतिथिमा भिमसेनथापा–२ का वडाध्यक्ष नारायण प्रसाद भट्टराई, सम्भव नेपालका प्रतिनिधि उत्तम अधिकारी, सामाजिक व्यक्तित्व सागर श्रेष्ठ र डी.बी. कुमाल लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुरुवात राष्ट्रिय गान र शहीदप्रति मौनधारणसहित प्रमुख अतिथिहरूद्वारा पानसमा दियो बालेर गरियो। सो अवसरमा संस्थाको तदर्थ समितिकी महिला उपाध्यक्ष स्वस्तिका अंगाईले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् भने उपाध्यक्ष अमुल लामिछानेले संस्थाको स्थापना कालदेखि हालसम्मको प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष समिर भट्टले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतिले पारित गरियो। साथै, आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्ताव पनि सभामार्फत अनुमोदन गरिएको छ।

सभामा अध्यक्षले आगामी वर्षका लागि वार्षिक योजना र संगठनको लक्ष्य प्रस्तुत गर्दै संविधान संशोधन, संस्थाको विगतका क्रियाकलापको अनुमोदन तथा साधारण सभाको निर्णयलाई आधिकारिक रूपमा दर्ता गर्ने प्रस्तावहरू पनि पेश गरेका थिए, जसलाई सदस्यहरूको बहुमतले पारित गरिएको थियो। अतिथिहरूले संस्थासँग आगामी दिनमा सहकार्य गर्न प्रतिबद्धता जनाए।

संस्थाको पहिलो कार्यसमितिको लागि भएको निर्वाचनमा कुनै पनि पदमा एकभन्दा बढी उम्मेदवारी नपरेको हुँदा तदर्थ समितिकै ९ जना पदाधिकारीहरूलाई निर्विरोध रूपमा चयन गरिएको छ। निर्विरोध निर्वाचित कार्यसमितिमा अध्यक्ष बिशाल भट्ट, उपाध्यक्ष अमुल लामिछाने, महिला उपाध्यक्ष स्वस्तिका अंगाई, सचिव भरत तिवारी, सहसचिव विजिता लामिछाने, कोषाध्यक्ष समिर भट्ट, सदस्यहरू गणेश धिताल, शिखर छत्कुली र सन्जय ढकाल रहेका छन्। निर्वाचन अधिकृत शिशिर धिताललाई तदर्थ समितिले दिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेबापत प्रमुख अतिथि मार्फत सम्मानसहित धन्यवाद प्रदान गरिएको थियो।

कार्यक्रमको समापनमा अध्यक्ष बिशाल भट्टले प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, सदस्य तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थाप्रति निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरेका थिए। संस्थाको आगामी योजनाहरू, संरचनात्मक सुदृढीकरण तथा सदस्यहरूको सक्रिय सहभागिताका लागि आवश्यक छलफलहरू गर्दै कार्यक्रम औपचारिक रूपमा बिसर्जन गरिएको थियो। संस्थाले पहिलो साधारण सभामार्फत संगठनात्मक आधार बलियो बनाउँदै सामाजिक रूपान्तरणमा सक्रिय योगदान दिने प्रतिबद्धता दोहोर्याएको छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय