काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जिव थापासहितका पूर्वपदाधिकारीहरूलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई हिजो मंगलबार पक्राउ गरेको थियो ।
सीआईबीले पक्राउ गरेर भक्तपुर प्रहरीलाई बुझाएकोमा प्रहरीले बुधबार म्याद थपका लागि जिल्ला अदालत लगेको थियो ।
तर, उनीहरूविरुद्ध अदालतले म्याद थप नगरेको भक्तपुर प्रहरी परिसरका डीएसपी दिपक कुमार कार्कीले जानकारी दिए ।
रेडक्रसका पूर्वअध्यक्ष उदयपुर कटारी नगरपालिका–३ का ७० वर्षीय सञ्जीव थापा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोट समुद्रटारका ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण नगरपालिका–५ का ५८ वर्षीय मदनकृष्ण फोजु र काठमाडौं बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी पक्राउ परेका थिए ।
सीआईबीले महिला, बालबालिका, लैङ्गि तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त भएको रेडक्रश सोसाइटी उपर भएको अनियमिता छानबिन प्रतिवेदनहरुको अध्ययन गर्दा ०७३ साल भदौ २२ गते प्रकाशित सूचना बमोजिम रेडक्रसको गोदाम घर सञ्चालनका लागि बिचौलियामार्फत भुक्तानी गरेको पाइए पनि पक्राउ गरेको थियो ।






