एउटा नेपाली अनुसन्धान समूहले कठिन अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बीच एक प्रतिष्ठित कोषबाट अनुसन्धान अनुदान जित्यो। नेपाली कानून अनुसार यो ‘अन्तर्राष्ट्रिय सहयोग’ हो र सरकारको स्वीकृति चाहिन्छ। अनुसन्धानकर्ता सिफारिस माग्न मन्त्रालय पुगे। सचिव अवकाशको सँघारमा—नबुझेको विषयमा ‘जोखिम’ लिन तयार भएनन्। उनी अवकाश भए। नयाँ सचिव आउन दुई महिना लाग्यो, उनी पनि अवकाशकै सँघारमा थिए। कथा दोहोरियो। तीन पटकको निवेदन र पाँच महिनाको पर्खाइपछि कसैले ‘जोखिम लिएर’ फाइल स्वीकृत गर्यो।
यो एक्लो घटना होइन, नेपालका वैज्ञानिकहरूले निरन्तर भोग्ने नियति हो। नबुझेको विषयमा निर्णय गर्नु प्रशासनका लागि ‘जोखिम’ हो। संसारभरका निजामतीको प्रशिक्षण नै कागजात अध्ययन गर्ने, सिफारिसका आधारमा काम गर्ने र निर्णय टार्ने किसिमको हुन्छ; बुझेर साहसका साथ निर्णय गर्ने होइन।
अर्को दृश्य: ३० दिनभित्र भुक्तानी हुने सामान्य अनलाइन प्रणालीबाट मगाइएको अनुसन्धान सामग्री भन्सारमा आइसप्याकमा आइपुग्छ। त्यसलाई ४८ घण्टाभित्र फ्रिजमा पुर्याउनुपर्ने हुन्छ। तर भुक्तानी अगावै सामान आएको भन्दै भन्सारमा हप्तौं रोकियो र लाखौंको सामान कामै नलाग्ने भयो। अर्को प्रयोगशालाले एउटा उपकरण बनाउन विभिन्न मुलुकबाट पार्टपुर्जा मगायो। भन्सारले हरेक मुलुकको उत्पत्ति-प्रमाणपत्र मागिदियो। ७२५ डलरको सामानका लागि ६८४ डलर त प्रमाणपत्रकै खर्च थोपरियो। कुनै बायोटेक कम्पनी खोल्ने सोच बोकेका युवा मन्त्रालय र विभागहरू धाउँदाधाउँदै तीन वर्ष बित्यो।
यही निराशाजनक वास्तविकता बदल्ने दाबी सहित मन्त्रालयले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन विधेयक’को मस्यौदा सार्वजनिक गरेको छ। नेपालको विज्ञान क्षेत्रकै पहिलो कानून बन्न लाग्नु धेरै स्वागतयोग्य छ। मस्यौदामा विज्ञान, प्रविधि तथा नवप्रवर्तन कोषको स्थापना जस्ता धेरै राम्रा व्यवस्था छन्। तर, कानूनको असली साँचो यसको संरचनामा हुन्छ—कसले निर्णय गर्छ, कति छिटो गर्छ र कुन स्वतन्त्रताका साथ गर्छ? दु:खद् कुरा, मस्यौदा ठ्याक्कै यहीं चुकेको छ। यो मस्यौदा हुबहु पारित भए माथिका दृश्य बदलिने छैनन्। विधेयकले राज्यको नीति निर्माण, नियमन, अनुदान, स्वीकृति, अनुसन्धान नैतिकता र अनुगमन—सबैको साँचो मन्त्रालय र उसकै नियन्त्रणमा रहने प्रशासनिक संयन्त्रलाई सुम्पेको छ। यही केन्द्रीकृत सोच विधेयकको सबैभन्दा गम्भीर कमजोरी हो।







