काठमाडौं । बागमती प्रदेश सरकार गठनको प्रक्रिया र मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केही प्रदेशसभा सदस्यहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न मंगलबार काठमाडौं पुगेका छन् ।

मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहेका बेला सत्तारुढ दलभित्रै असन्तुष्टि चर्किएपछि सरकारमाथि थप राजनीतिक दबाब परेको छ । स्रोतका अनुसार नेकपाका असन्तुष्ट सांसदहरू गंगानारायण श्रेष्ठ, कृष्णप्रसाद खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठसहितका नेता पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्न काठमाडौं पुगेका हुन् ।

उनीहरूले बागमती प्रदेश सरकार गठनमा भएको मन्त्रालय बाँडफाँट र पार्टी नेतृत्वको भूमिकाप्रति गम्भीर असन्तुष्टि राख्दै आफ्नो धारणा अध्यक्षसमक्ष राख्ने तयारी गरेका छन् ।

विश्वासको मत लिने कार्यसूची सोमबार दिउँसो १ बजेका लागि तय गरिएको भए पनि सत्ता गठबन्धनभित्र सहमति नजुटेपछि बैठक पटक–पटक सारिँदै अन्ततः  मंगलबार अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

स्रोतका अनुसार पार्टी अध्यक्ष प्रचण्डले असन्तुष्ट सांसदहरूलाई हेटौँडा पुगेर सरकारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । तर असन्तुष्ट समूहले सरकार गठन प्रक्रियामै गम्भीर कमजोरी भएको भन्दै तत्काल विश्वासको मत दिन कठिन हुने धारणा राखेको बताइएको छ ।

विश्वासको मत लिने कार्यसूची नै मंगलबारसम्मका लागि सारिएपछि भने उनीहरु अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष छलफलमा जुटेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय