टोकियो, जापान । जापानमा नेपाली मौलिक सुनचाँदी तथा परम्परागत गरगहनाको व्यवसायलाई व्यवस्थित, सुरक्षित र प्रवर्द्धन गर्ने विषयमा जापानका लागि नेपाली राजदूतसँग भेटवार्ता तथा छलफल भएको छ।
भेटवार्ताका क्रममा जापानमा नेपाली मौलिक सुनचाँदीका सामग्रीको व्यवसाय विस्तार गर्न सकिने सम्भावना, त्यसका लागि आवश्यक व्यवस्थापन, कानुनी प्रक्रिया तथा नेपाली कला–संस्कृतिसँग जोडिएका मौलिक गरगहनाको प्रवर्द्धनका विषयमा छलफल गरिएको बताइएको छ।
नेपालको मौलिक पहिचान बोकेका सुनचाँदीका गरगहना, परम्परागत डिजाइन तथा हस्तकलालाई जापानमा रहेका नेपाली समुदायसँगै जापानी बजारसम्म पुर्याउन सके नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा समेत योगदान पुग्ने सहभागीहरूको धारणा थियो।
छलफलमा जापानमा व्यवसाय सञ्चालन गर्दा त्यहाँको कानुन तथा व्यवसायिक मापदण्ड पालना गर्दै नेपाली मौलिक उत्पादनलाई गुणस्तरीय र व्यवस्थित ढंगले बजारमा लैजानुपर्ने विषयमा जोड दिइएको थियो। साथै, नेपालबाट उत्पादित मौलिक सुनचाँदीका सामग्रीको पहिचान, गुणस्तर, मूल्य निर्धारण तथा बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने विषय पनि उठाइएको थियो।
जापानमा नेपाली समुदायको उपस्थिति निरन्तर बढ्दै गएको अवस्थामा नेपाली उत्पादन, कला, संस्कृति र व्यवसायलाई संस्थागत रूपमा अघि बढाउन आवश्यक रहेको बताइएको छ। जापानमा नेपाली व्यवसायीहरूले विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका छन् भने नेपाली मौलिक खानपान, संस्कृति र उत्पादनको प्रवर्द्धन पनि हुँदै आएको छ।
भेटवार्तामा नेपाली मौलिक सुनचाँदी व्यवसायलाई थप व्यवस्थित बनाउन सम्बन्धित व्यवसायी, संघसंस्था र दूतावासबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
सहभागीहरूले नेपाली मौलिक सुनचाँदी केवल व्यापारिक वस्तु मात्र नभई नेपालको संस्कृति, परम्परा र पहिचानसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षण र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
जापानमा व्यवसाय सञ्चालन गर्ने नेपालीहरूका लागि पछिल्लो समय नियम, प्रक्रिया र व्यवसायिक दायित्वबारे स्पष्ट जानकारी आवश्यक हुँदै गएको अवस्थामा सरकारी तथा संस्थागत निकायसँगको समन्वयलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता समेत औंल्याइएको छ।
भेटवार्तामा सहभागीहरूले जापानमा नेपाली मौलिक सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्दै यसको बजार विस्तारका लागि आगामी दिनमा थप छलफल तथा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






