विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य मंगलबार ८० हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ ।  अमेरिकी डलर कमजोर बन्दै जानु तथा लगानीकर्तामा मुद्राको मूल्य घट्ने चिन्ता बढेपछि क्रिप्टो करेन्सीले बजारमा नयाँ गति लिएको हो ।

एजेन्सीका अनुसार मंगलबार बिटक्वाइन एसियाली कारोबारमा ८० हजार ३२३.२४ डलरमा कारोबार भइरहेको थियो । यसअघि यसको मूल्य ८१ हजार २३७.९४ डलरसम्म पुगेको थियो । त्यपछि गिरावट आएको बिटक्वाइनको मूल्यमा अगस्ट महिनामा मात्रै मूल्य करिब २८ प्रतिशतले बढिसकेको छ । यससँगै नोभेम्बर २०२४ पछि यताको सबैभन्दा ठूलो मासिक वृद्धि हुने दिशामा अघि बढेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता अमेरिकी कंग्रेसलाई क्रिप्टोकरेन्सी क्षेत्रका लागि स्पष्ट कानुनी परिभाषा हुने विधेयक पारित गर्न आग्रह गरेका थिए । त्यसयता बिटक्वाइनको मूल्य करिब १६ प्रतिशतले बढेको जनाइएको छ ।यसैबीच अमेरिकी ट्रेजरीले दीर्घकालीन बन्ड थप खरिद गर्ने योजना सार्वजनिक गरेपछि पनि अमेरिकी मुद्रा दबाबमा परेको विश्लेषण गरिएको छ ।ह्यासकी ग्रुपका वरिष्ठ अनुसन्धानकर्ता टिम सनका अनुसार, अमेरिकी नीति निर्माताले आगामी मध्यावधि निर्वाचनसम्म दीर्घकालीन बन्डको ब्याजदर अझ बढ्न नदिने सम्भावनाबारे बजार जानकार रहेको छ । त्यसैले पनि अमेरिकी ट्रेजरीको ऋणपत्र पुनःखरिद योजनापछि बजारमा ‘डिबेसमेन्ट ट्रेड’ अर्थात् मुद्राको वास्तविक मूल्य घट्ने जोखिमबाट जोगिन लगानीकर्ताले वैकल्पिक सम्पत्तिमा लगानी गर्ने रणनीतिबारे चर्चा बढेको छ ।

स्ट्यान्डर्ड चार्टर्डका डिजिटल सम्पत्ति अनुसन्धान प्रमुख जियोफ केन्ड्रिकका अनुसार अमेरिकी ट्रेजरीको पछिल्लो कदम बिटक्वाइनका लागि अनुकूल वातावरण सिर्जना गर्ने किसिमको छ । उनका अनुसार बिटक्वाइनलगायत डिजिटल सम्पत्तिले सरकारी तथा वित्तीय हस्तक्षेपको जोखिमबाट बच्न चाहने लगानीकर्तालाई वैकल्पिक माध्यम प्रदान गर्छ ।

आईजीका बजार विश्लेषक टोनी साइकामोरले ट्रेजरीको घोषणापछि लगानीकर्ता भौतिक तथा डिजिटल सम्पत्तितर्फ आकर्षित भएको बताए । उनका अनुसार बिटक्वाइनले हालको स्तरलाई मजबुत रूपमा पार गर्न सके ९५ हजारदेखि १ लाख डलरसम्म पुग्ने बाटो खुल्न सक्छ ।

डलर कमजोर बनेपछि बिटक्वाइनसँगै सुनको मूल्य पनि तीन महिनायताकै उच्च स्तरमा पुगेको छ । यसले लगानीकर्ताले परम्परागत सुरक्षित सम्पत्ति सुनसँगै डिजिटल सम्पत्तिलाई समेत कमजोर डलर र सम्भावित मुद्रा अवमूल्यनबाट बच्ने माध्यमका रूपमा हेर्न थालेको संकेत गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय