काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा भौतिक तथा मानवीय क्षति पुर्‍याएको छ।

प्रारम्भिक विवरणअनुसार बाढीका कारण सञ्चालनमा रहेका विभिन्न १२ वटा उत्पादन केन्द्र बन्द हुँदा कुल ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीले उक्त नदी बेसिनमा निर्माणाधीन कुल ४ सय ७० मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ। क्षतिको पूर्ण विवरण संकलन तथा स्थलगत मूल्यांकन भने अझै जारी छ।

उता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले भने भोटेकोशी बाढीबाट ७०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजना प्रभावित रहेको जनाएको छ। रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका र निर्माणाधीन दर्जनौं जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवक्र्स, पावरहाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्रीलगायत भौतिक संरचनामा गम्भीर क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको संस्थाले जनाएको छ।

इप्पानले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार रसुवामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन्। त्यस्तै, जिल्लामा निर्माणाधीन करिब ३ सय ४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा समेत क्षति पुगेको अनुमान गरिएको छ।

नुवाकोटमा सञ्चालनमा रहेका करिब १ सय २३ मेगावाट क्षमताका चार आयोजना र निर्माणाधीन करिब ५२.६ मेगावाट क्षमताका दुई आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको प्रारम्भिक विवरण इप्पानले दिएको छ।

यसरी इप्पानले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकअनुसार रसुवा र नुवाकोटमा मात्रै सञ्चालनमा रहेका तथा निर्माणाधीन करिब ७ सय ५४ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्। त्यसैगरी, इप्पानका अनुसार माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा भएको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय जलविद्युत् आयोजनासमेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेका छन्। इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले आयोजनाको क्षतिभन्दा पनि सुरुङ (टनेल) मा फसेका र बेपत्ता भएका मानिसको उद्धारमा लागेको बताए।

सञ्चालनमा रहेका आयोजनाबाट ४३१ मेगावाट विद्युत् बाहिरियो
बाढीपछि प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित विभिन्न उत्पादन केन्द्र बन्द भएका छन्। यसले राष्ट्रिय विद्युत् प्रणालीमा तत्काल ठूलो प्रभाव पारेको छ।

क्षति तथा अवरोधका कारण प्रभावित प्रमुख उत्पादन केन्द्रमा रसुवागढी जलविद्युत् आयोजना १ सय ११ मेगावाट, सालासुंगी (सान्जेन) ७८ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट, सान्जेन ४२.५ मेगावाट, चिलिमे जलविद्युत् केन्द्र २२ मेगावाट, लाङटाङ जलविद्युत् आयोजना २० मेगावाट, माथिल्लो त्रिशूली–३ ए ६० मेगावाट, माथिल्लो मैलुङ १४.८ मेगावाट, मैलुङ ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र १४ मेगावाट र प्राधिकरणको २५ मेगावाटको सोलार आयोजना रहेका छन्।

निर्माणाधीन १५ आयोजनामा ४७० मेगावाट क्षमतामा क्षति
बाढीले सञ्चालनमा रहेका आयोजनामा मात्र नभई निर्माणाधीन आयोजनाका संरचनामा समेत क्षति पु¥याएको छ। प्रारम्भिक विवरणअनुसार उक्त नदी बेसिनमा प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवद्र्धकबाट निर्माण भइरहेका १५ आयोजनाको कुल क्षमता ४ सय ७० मेगावाट रहेको छ।

दर्जनौं कर्मचारी तथा कामदार सम्पर्कविहीन

बाढीपछि जलविद्युत् आयोजनाका साइटमा कार्यरत ठूलो संख्यामा कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। त्रिशूली जलविद्युत् कम्पनीले निर्माण गरिरहेको त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ कर्मचारी सम्पर्कविहीन छन्।

चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना सम्पर्कविहीन रहेको पाइएको छ। सोही आयोजनाको साइटमा चेस्को कम्पनीमार्फत खटिएका थप ११ जना पनि सम्पर्कमा छैनन्।

त्यस्तै, त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावरहाउसमा मर्मतमा संलग्न ४५ कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन छन्। चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ र आवास क्षेत्र आसपासका थप एक जना सम्पर्कमा आएका छैनन्।

प्राधिकरणअन्तर्गतका त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी पनि सम्पर्कबाहिर छन्। रसुवा वितरण केन्द्रमा कार्यरत चिलिमे पावरहाउसको स्विचयार्डमा काम गर्ने एक जना तथा गोटागन्तीका मिटररिडर पनि सम्पर्कविहीन छन्। त्यस्तै, त्रिशूली २२० केभी ३ बी हब सबस्टेसनमा ठेकेदारतर्फबाट कार्यरत १६ जना पनि सम्पर्कमा नरहेको विवरण छ।

२२० केभी सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त

बाढीले विद्युत् प्रसारण संरचनामा पनि गम्भीर क्षति पुर्‍याएको छ। त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको प्राधिकरणले जनाएको छ। त्यस्तै, चिलिमे २२० केभी हब टावरमा अवरोध आएपछि उक्त संरचना बन्द भएको छ। समुद्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन पनि अवरुद्ध भएका छन्।

विद्युत् अवरुद्ध

बाढीका कारण रसुवा जिल्लामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ। नुवाकोट, धादिङ र गोरखामा भने आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ। धादिङको जहरे ३३ केभी सबस्टेसनमा करिब पाँच फिट लेदो जमेकाले डोजर प्रयोग गरेर सफाइ भइरहेको छ। विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ। प्राधिकरणले प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न वैकल्पिक उपाय अपनाउन थालेको छ।

सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली सञ्चालनमा ल्याएर चौघडा सबस्टेसन सञ्चालन गर्ने प्रयास भइरहेको छ। त्यस्तै, गजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेंसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने काम भइरहेको छ। सम्भव भएका स्थानमा प्रसारण तथा वितरण लाइनको पेट्रोलिङ गरी क्षति पहिचान र मर्मत गरेर विद्युत् सेवा सञ्चालन गर्ने प्रयास जारी रहेको प्राधिकरणले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय