विराटनगरमा मध्यराति चोरी गरेर भाग्ने क्रममा घरको तीन तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका-४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा गएराति चोरी गर्न छिरेका अन्दाजी ३५/४० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
उनका अनुसार शनिबार राति १२:२० बजेतिर घटनास्थलमै उनको मृत्यु भएको हो।
ती व्यक्ति छिमेकीको घर हुँदै न्यौपानेको घरको तेस्रो तलामा पुगेका थिए। तेस्रो तलामा चोर पसेको थाहा पाएपछि घरधनीले होहल्ला गरेका थिए। वरपरका मानिस भेला हुन थालेपछि भाग्ने क्रममा तेस्रो तलाबाट खसेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन।
डीएसपी श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी आज बिहान २ बजेतिर शव पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएको छ।
प्रहरीले मृतकको पहिचान खुलाउने प्रयास जारी राख्दै घटनाका विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।







