काठमाडौं । राष्ट्रिय सभाकी सदस्य कमला पन्तले विपद्बारे विगतमा सांसदहरूले सरकारलाई दिएका सुझाव नसुनिएको बताएकी छन् । मंगलबार सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘आज हामी महाविपत्तिको सामना गरिरहेका छौं । तर यस्तो जोखिमबारे हामीले विपत्ति आउनु अगाडि नै यही संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका थियौं’ उनले भनिन् ।
मनसुनजन्य विपद् बाढी, पहिरो, डुबान र पूर्व तयारीका विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएको स्मरण गर्दै उनले त्यसअनुसार काम हुन नसकेको बताइन् ।
पूर्वतयारी गर्न सकेको भए क्षति कम गर्न सकिन्थ्यो भन्ने उनको भनाइ छ ।
‘बाढी, पहिरो, डुबान र अतिबृटि अब असमान्य घटना रहेनन् । जलवायु परिवर्तनका कारण यस्ता जोखिम झन बढिरहेका छन्’ उनले भनिन्, ‘त्यसैले अब चेतावनीलाई वेवास्ता गर्ने होइन । तत्काल कार्यमा परिणत गर्ने समय हो ।’
उनले रसुवामा गएको विनाशकारी बाढीका कारण वेपता भएका नागरिकको खोजी र उद्धारमा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरिन् ।
जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि उनको माग छ । भदौ १० गते विनाशकारी बाढी भएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकामध्ये ९८७ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन् ।
प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरसी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ ।
उद्धार, राहत तथा पुनःस्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ जना रहेका छन् ।







