काठमाडौँ । नेकपा एमाले, प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले ग्रीन आर्मीलाई कसले वैधता दियो भन्दै प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भने– ‘नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो। नेपालको संविधान र कानुनले राष्ट्रिय सुरक्षा तथा सैन्य संरचनाको स्पष्ट व्यवस्था गरेको छ। नेपाली सेना नै नेपालको एक मात्र संवैधानिक सैनिक संगठन हो । त्यसो भए ‘ग्रीन आर्मी’ कसले, कुन उद्देश्यले गठन र दर्ता गर्यो ? यसको नाम, संरचना र सैन्य स्वरूपलाई कसले र कुन कानुनी आधारमा वैधता दियो ? राज्यले यी प्रश्नको स्पष्ट र सार्वजनिक जवाफ दिनुपर्छ।’
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बाहेकका कुनै पनि समानान्तर सुरक्षा वा सैन्य संरचनालाई नेपालको संविधान र कानुनले नचिन्ने भन्दै उनले कुनै पनि सैन्य स्वरूपका संरचना तत्काल खारेज गरिनुपर्ने बताए ।
‘कुनै पनि बहानामा छद्म रूपमा धार्मिक, साम्प्रदायिक वा अन्य कुनै रंगका सेना वा अर्धसैनिक संरचना निर्माण गर्ने र मुलुकलाई योजनाबद्ध रूपमा द्वन्द्व तथा गृहयुद्धतर्फ धकेल्ने प्रयास स्वीकार्य हुन सक्दैन। राज्यको सुरक्षा संरचनामाथि समानान्तर शक्ति खडा गर्ने छुट कसैलाई छैन। यस्तो संवेदनशील विषयलाई सामान्य घटनाजस्तो लिएर पन्छाउन मिल्दैन। सरकार गम्भीर बनोस्, तथ्य सार्वजनिक गरोस् र संविधान तथा कानुनविपरीत देखिने कुनै पनि संरचना तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अघि बढाओस्। राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भावमाथि हुने कुनै पनि षड्यन्त्र छ्याम्मे हुन सक्दैन’ उनले भनेका छन् ।
https://www.facebook.com/share/p/19JhiFAbLb/







