भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। केही जलविद्युत् आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने संरचनामा प्रत्यक्ष क्षति नपुगेका आयोजनासमेत प्रसारण लाइन ध्वस्त हुँदा विद्युत् उत्पादन र आपूर्ति बन्द गर्न बाध्य भएका छन्।
बाढीबाट प्रभावित सात जलविद्युत् कम्पनीले धितोपत्र विनियमावली २०७५ को विनियम २२ बमोजिम नेपाल स्टक एक्सचेन्जलाई पत्र लेखेका छन्। नियमनअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई छुट्टाछुट्टै पत्र पठाउँदै आफ्ना आयोजना र प्रसारण संरचनामा पुगेको क्षतिको जानकारी दिएका छन्।
सबैभन्दा बढी क्षति ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ जलविद्युत् आयोजनामा पुगेको छ। त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले सञ्चालन गरेको उक्त आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएको जानकारी कम्पनीले भदौ १५ गते नेप्सेलाई दिएको छ। त्यस्तै, ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएको छ। मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले भदौ ११ गते नै नेप्सेलाई क्षतिबारे जानकारी गराएको थियो।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडद्वारा सञ्चालित २२ दशमलव १ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत्गृहमा पूर्ण क्षति पुगेको छ। कम्पनीको जानकारीअनुसार यस आयोजनाको विद्युत्गृह बाढीबाट पूर्ण रूपमा प्रभावित भएको हो।
त्यसैगरी, चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा स्थापना भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी नेप्सेलाई दिइएको छ। कम्पनीले भदौ ११ गते यस सम्बन्धमा पत्र पठाएको थियो।बाढीले १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन र इन्टरकनेक्सन संरचनामा समेत क्षति पुर्याएको छ। कम्पनीले भदौ ११ गते नेप्सेलाई यसबारे जानकारी दिएको थियो।
यसैबीच, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको त्रिशूली–३ बी हबदेखि समुद्रटार सबस्टेसनसम्म जोडिएको १३२ केभी प्रसारण लाइनमा पनि क्षति पुगेको छ। कम्पनीले भदौ १५ गते नेप्सेलाई पत्र पठाउँदै प्रसारण संरचनामा भएको क्षतिको जानकारी गराएको छ।
बाढीको प्रत्यक्ष असर आयोजनामा मात्र सीमित नभई विद्युत् निकासी प्रणालीमा समेत परेको छ। सान्जेन जलविद्युत् कम्पनी लिमिटेडका अनुसार उसका सान्जेन र माथिल्लो सान्जेन जलविद्युत् केन्द्रका संरचनामा बाढीबाट प्रत्यक्ष क्षति पुगेको छैन। तर, त्रिशुली–३ बी हब र चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा भएको क्षतिका कारण दुवै जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पठाउन नसकिएको कम्पनीले जनाएको छ। विद्युत् निकासी हुन नसकेपछि कम्पनीअन्तर्गतका दुवै जलविद्युत् केन्द्र बन्द भएका छन्। कम्पनीले यसबारे भदौ १० गते नेप्सेलाई जानकारी दिएको थियो।
नेपाल स्टक एक्सचेन्जले सेयरमा प्रभाव पर्ने भएको हुनाले कम्पनीले नियमन अनुसार हामीलाई जानकारी गराएको बताएको छ।
भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीले जलविद्युत् आयोजनाका संरचना मात्र नभई प्रसारण लाइन र विद्युत् निकासी प्रणालीलाई समेत प्रभावित पारेको देखिएको छ। आयोजनाको भौतिक संरचना सुरक्षित भए पनि प्रसारण प्रणाली क्षतिग्रस्त हुँदा करोडौंको लगानीमा बनेका विद्युत् केन्द्रहरू उत्पादन बन्द गर्न बाध्य भएका छन्।
यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले आफूहरू अहिलेसम्म उद्धार कार्यमा लागेको हुनाले बुधबारबाट जलविद्युत्को सेयरबारे जानकारी लिने बताए। सेयर ललानीकर्ता छोटेलाल रौनियारले नयाँ सरकार बनेपछि ६ अर्ब रुपैयाँको क्षति बेहोरेको बताए। उनले नयाँ अब यसले बैंक, बिमा, पुनर्बिमा र जलविद्युत्लाई प्रत्यक्ष प्रभाव पार्ने जनाए।
२०८३ साल भदौ १० गते भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन गरी १२ वटा विद्युत् आयोजनाका संरचना ध्वस्त भएका थिए। आयोजनासमेत प्रभावित हुँदा करिब ४ सय ३१ मेगावाट विद्युत् क्षमता नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको छ। अर्बाैं रुपैयाँको लगानी, वर्षौंको मेहनत र आधुनिक प्रविधिबाट निर्माण भएका जलविद्युत् तथा प्रसारण प्रणालीका संरचना केही क्षणमै बाढीले बगाएको थियो। जलविद्युत् आयोजना तथा भौतिक संरचनाको क्षतिसँगै ऊर्जा क्षेत्रमा कार्यरत दक्ष इन्जिनियर, प्राविधिक, विज्ञ, विशेषज्ञ तथा कामदारहरूलाई समेत गुमाउनु परेको थियो।
क्षतिको वास्तविक विवरण माग्दै सेबोनको चासो जलविद्युत् आयोजनामा भएको क्षतिले कम्पनीको आम्दानी, नाफा, नगद प्रवाह र ऋण तिर्ने क्षमतामा असर पार्न सक्ने देखिएपछि सेबोनले प्रभावित सूचीकृत कम्पनीको वास्तविक अवस्था सार्वजनिक गराउन चासो देखाएको हो।
बोर्डले विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित कम्पनीको तत्काल पहिचान गरी विस्तृत सूची तयार गर्न निर्देशन दिएको छ। प्रभावित कम्पनीबाट आयोजनाको नाम र स्थान, विपद्को प्रकृति तथा मिति, भौतिक क्षतिको अवस्था, विद्युत् उत्पादनमा परेको असर र प्रसारण तथा वितरण संरचनाको विवरण संकलन गरी सार्वजनिक गर्न भनिएको छ।
त्यस्तै, कम्पनीहरूले बिमा अवस्था र बिमा दाबीको प्रक्रिया, प्रारम्भिक वित्तीय क्षति, आयोजना पुनः सञ्चालन हुन लाग्ने सम्भावित समय तथा बैंक ऋण र अन्य वित्तीय दायित्वमा पर्न सक्ने प्रभावसमेत सार्वजनिक गर्नुपर्ने भएको छ। क्षति न्यूनीकरण र आयोजना पुनः सञ्चालनका लागि व्यवस्थापनले तत्काल चालेका कदमबारे पनि लगानीकर्तालाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
बाढी प्रभावित कम्पनीको सेयर मूल्यमा अस्वाभाविक उतारचढाव आउन सक्ने र विपद्को अवस्थालाई आधार बनाएर बजारमा चलखेल हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सेबोनले नेप्सेलाई विशेष निगरानी गर्न निर्देशनसमेत दिएको पाइएको छ।







