काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार २९० पुगेको छ। नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बाढीमा परी ४ हजार ७९८ जना अझै बेपत्ता छन्।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक, ४५ बालिका र ५३२ वटा आंशिक अङ्ग रहेका छन्। दुई जनाको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। फेला परेकामध्ये ९२६ वटा शवको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। यस्तै पहिचानका लागि १,१४३ मृतक र ७१९ आफन्त गरी कुल १,८६२ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ।
बेपत्ता हुनेमा २,८८७ स्वदेशी र ६०१ जना विदेशी नागरिक छन्। १,३५० जना भने टेलिफोनमार्फत आफन्तले दिएको सूचनाका आधारमा बेपत्ता सूचीमा राखिएका छन्।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १२७ जनाको घाइते तथा अलपत्र अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये ३ हजार ६३१ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। पहिचान हुन नसकेका १,१४१ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ।







