विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको हात्ती अभियान्ता शङ्कर लुईटेलले जानकारी दिए।
बच्चासहितको उक्त हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगर लगायतका आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो । हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने, खेतमा लहलह भएको धान खाइदिने, कुल्चिएर नष्ट गर्ने, सुपारीका बोट भाँचिदिन गरेपछि झापाका उत्तरी–पूर्वी क्षेत्रका बासिन्दा लामो समयदेखि त्रास र तनावमा जीवन बिताउन बाध्य थिए ।
एक महिनापछि भारतबाट आएको ठूलो हुल आफ्नै प्राकृतिक बासतर्फ फर्किएपछि स्थानीयवासीले ठूलो राहतको महसुस गरेका छन् । स्थानीय नीलकण्ठ तिवारीका अनुसार हात्तीको हुल फर्केपछि केही हदसम्म भए पनि स्थानीयमा त्रास कम भएको बताए। आज बिहान बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा एउटा एक्लो हात्ती बस्तीमा पसेपछि स्थानीयवासी पुनः त्रसित बनेका थिए । बिहानीपख घरआँगनमै हात्ती देखिएपछि स्थानीयहरू भागाभाग गर्न बाध्य भएका थिए ।
उक्त एक्लो हात्ती बिहान बस्तीमा घुमेको करिब चार घण्टापछि बुटाबारीस्थित चियाबगानतर्फ लागेको पत्रकार पुष्प बरालले जानकारी दिए। झापामा भारतको आसाम तथा पश्चिम बङ्गालका जङ्गलबाट मेची नदी तरेर हात्तीहरू खाना र बासको खोजीमा बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गर्छन् ।







