काठमाडौं। नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट राजीनामा दिएका छन्।

उनले बिहीबार नैकापस्थित गोल्डस्टार पार्टी प्यालेसमा आयोजित जिल्ला कमिटीको बैठकमा आफ्नो राजीनामा घोषणा गरेका हुन्। बैठकमा एमालेका सचिव डा। राजन भट्टराई तथा काठमाडौं जिल्ला इन्चार्ज रामेश्वर फुयाँल पनि उपस्थित थिए।

निरौलाले बैठकको सुरुआतमा आफ्नो कार्यकालमा भएका उपलब्धिहरू प्रस्तुत गरेका थिए। तर, अन्तिममा अचानक अध्यक्ष पदबाट राजीनामा घोषणा गरेपछि बैठकमा सहभागी जिल्ला कमिटीका सदस्यहरू अचम्मित र स्तब्ध बनेको एक जिल्ला कमिटी सदस्यले बताएका छन्।

दुईपटक नेतृत्व सम्हालेका निरौलाले आफ्नो धारणा राखिसकेपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए। एमाले काठमाडौं जिल्ला कमिटीभित्र पछिल्लो समय जिल्ला प्रतिनिधि परिषद्को कार्यक्रममा कार्यकर्ता तथा समर्थकको उपस्थिति गराउने विषयलाई लिएर समेत लामो विवाद भएको बताइएको छ।

राजीनामालाई एमालेभित्रको पछिल्लो शक्ति संघर्षसँग जोडेर पनि हेरिएको छ। बैठकमा उपस्थित सचिव डा। भट्टराई र जिल्ला इन्चार्ज फुयाँल अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् भने निरौला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट नेताका रूपमा चिनिँदै आएका छन्।

पार्टीभित्र नेतृत्व परिवर्तनको बहस उठाउने जिल्ला कमिटी अध्यक्षमध्ये निरौला प्रमुख नेताका रूपमा रहेका थिए। उनी एमालेभित्रको दुई लाइन संघर्षमा भण्डारी पक्षमा सक्रिय थिए ।

गत भदौमा भएको जेन-जी आन्दोलन र फागुन २१ गतेको निर्वाचनपछि पनि पार्टी नेतृत्वको आलोचना र परिवर्तनको बहसबाट पछि नहटेपछि अध्यक्ष ओली र बागमती प्रदेश इन्चार्ज महेश बस्नेतलगायतबाट निरौलालाई पद छाड्न दबाब परेको स्रोतको दाबी छ।

पछिल्लो समय अध्यक्ष ओलीले पार्टीभित्र आफूलाई प्रश्न गर्ने नेताहरूलाई समेत नियन्त्रणमा राख्ने रणनीति अघि बढाएको चर्चा एमालेभित्र छ। यसै सन्दर्भमा उपाध्यक्ष विष्णुप्रसाद पौडेललगायतका नेतामाथि दबाब बढाइएको र महासचिव शंकर पोखरेल पनि तत्काल नेतृत्व परिवर्तनको बहसबाट पछि हटेको बताइएको छ।

यसअघि निरौला २०७१ जेठ २९ गते भएको निर्वाचनबाट एमाले काठमाडौं जिल्ला कमिटीको अध्यक्षमा पुनः निर्वाचित भएका थिए। उनले ३७० मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी निर्मल देउलाले १९१ मत प्राप्त गरेका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय