विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन् ।

लागुऔषध गाँजा बरामद गरिएको एउटा गाडीमा टाँसिएको स्टिकर प्रहरी कार्यालयभित्रै छिरेर उप्काएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङले यादवले इलाका प्रहरी कार्यालय रानीको परिसरभित्र अनधिकृत रूपमा प्रवेश गरी अनुसन्धानका लागि राखिएको गाडीको प्रमाण नष्ट गर्न खोजेको दाबी गरेको छ । प्रहरीले ५० किलो २९० ग्राम गाँजासहित नियन्त्रणमा लिएको को १ च ६६२० नम्बरको मारुती भ्यानमा ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको स्टिकर टाँसिएको थियो ।

प्रहरी हिरासतमा रहेको उक्त गाडीबाट यादवले सो स्टिकर उप्काउँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका यादव विराटनगर महानगरपालिका वडा नं. १४ का बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार यादवलाई भदौ २२ गते पक्राउ गरिएको हो । उनलाई अदालतबाट ७ (सात) दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गाँजा तस्करीमा प्रयोग भएको भनिएको गाडीमा अस्पतालको स्टिकर प्रयोग गरेर सुरक्षाकर्मीलाई छल्न खोजिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सोही स्टिकर उप्काएर प्रमाण मेटाउन खोजेको भन्दै विद्यार्थी नेता यादवमाथि प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय