काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा खसेको पहिरो पन्छाउने र सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिइएको छ । नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा ९ वटा ठुला मेसिनहरू प्रयोग गरेर काम भइरहेको छ ।
सडक मर्मतका लागि ६ वटा एक्स्काभेटर, एउटा बुल्डोजर, एउटा लोडर र एउटा जेसिबी परिचालन गरिएको छ । इन्जिनियर मिश्रले सडकलाई पुरानै अवस्थामा फर्काउन र दिगो बनाउन डिजाइन अनुसारको काम भइरहेको जानकारी दिए ।सडक पूर्ण रूपमा मर्मत गरी सुचारु गर्न अझै केही दिन लाग्ने देखिएको छ । ‘अहिले कटिङ गर्नुपर्ने हाइट धेरै छ, त्यसलाई काट्दै डिजाइन अनुसार स्टेबलाइज गर्दै जानुपर्ने हुन्छ,’ मिश्रले भने, ‘कामको प्रकृति हेर्दा अझै ६ देखि ७ दिन लाग्न सक्छ । यद्यपि हामीले छिटोभन्दा छिटो सक्ने प्रयास गरिरहेका छौँ ।’पहिरोको जोखिमलाई मध्यनजर गर्दै यस पटक ’जियोटेक सोसाइटी’को प्राविधिक सल्लाह र डिजाइनमा काम भइरहेको छ । पहिरो नियन्त्रण र सडकको सुरक्षाका लागि सिट पाइल, माइक्रो पाइल, ड्रेनेज र वाटर म्यानेजमेन्ट जस्ता प्रविधिहरू प्रयोग गरिने मिश्रले बताए ।
‘पहिला हामीले कटिङ गरेर सडकलाई डिजाइन लेभलमा पुर्याउनुपर्छ,’उनले थपे, ‘त्यसपछि मात्र सिट पाइल राख्ने, ग्राभेल गर्ने र बुलेट पास गर्ने जस्ता कामहरू हुन्छन् ।’ माथिबाट पहिरो खस्ने र तलबाट जमिन भासिने जोखिमलाई न्यूनीकरण गर्न निरन्तर अनुगमन भइरहेको समेत उनले जानकारी दिए ।
अहिले सो क्षेत्रमा थुप्रिएको ठुलो परिमाणको माटो फाल्नुपर्ने र भौगोलिक बनावट अप्ठ्यारो भएका कारण काममा केही चुनौती देखिए पनि सुरक्षाका उपायहरू अपनाएर काम अघि बढाइएको आयोजनाले जनाएको छ ।







