काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा बनेको गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
भदौ २३ गते ‘जेनजी शहीद दिवस’ को अवसरमा पार्टीका संयोजक दुर्गा सोबद्वारा जारी प्रेस वक्तव्यमा आयोगले सरकारसमक्ष प्रतिवेदन पेस गरिसकेको अवस्थामा पनि औपचारिक रूपमा सार्वजनिक नगरिनु गम्भीर विषय भएको उल्लेख छ। जनतालाई सत्य-तथ्य जान्ने अधिकार सुनिश्चित गर्न उक्त प्रतिवेदन शीघ्र सार्वजनिक हुनुपर्ने माग पार्टीले राखेको छ।
नेसपा (नयाँ शक्ति) ले भदौ २३ र २४ गतेको विद्रोहलाई नेपाली राजनीतिको महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरेको छ। विद्रोहपछि तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार र जेनजी प्रतिनिधिहरूबिच भएका सहमति तथा प्रतिबद्धताहरूको शीघ्र कार्यान्वयन गरी कार्यप्रगति सार्वजनिक गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
वक्तव्यमा भनिएको छ, ‘वर्तमान सरकार जेनजी विद्रोहले सिर्जना गरेको राजनीतिक परिस्थितिको जगमा निर्माण भएको हो । त्यसैले यस सरकारले जेनजी पुस्ताको भावना र अपेक्षालाई सत्ता निर्माणको सन्दर्भमा मात्र होइन, राज्य सञ्चालनको मूल कार्यदिशाका रूपमा ग्रहण गर्नुपर्छ।’
युवाले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता, रोजगारी, अवसर र राजनीतिक पुस्तान्तरणका प्रश्नमा सरकारले ठोस परिणाम देखाउनुपर्नेमा पार्टीले जोड दिएको छ।
नेसपा (नयाँ शक्ति) का अनुसार जेनजी विद्रोहको अर्थ केवल सरकार वा नेतृत्व परिवर्तनमा सीमित हुनु हुँदैन। नयाँ अनुहारको प्रवेशसँगै पुरानै कार्यशैली, अपारदर्शिता र जवाफदेहिताविहीन शासन कायम रहे आन्दोलनको उद्देश्य अधुरै रहने चेतावनीसमेत दिइएको छ।
पार्टीले जेनजी शहीद दिवसलाई केवल औपचारिक श्रद्धाञ्जलीको दिन नभई सत्य, न्याय, सुशासन र राजनीतिक रूपान्तरणप्रतिको राष्ट्रिय संकल्पको दिनका रूपमा स्थापित गर्न आह्वान गरेको छ। साथै, विद्रोहमा शहादत प्राप्त गर्ने सम्पूर्ण युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहीद परिवार र घाइतेहरूप्रति सम्मान व्यक्त गरिएको छ।








