भदौ २३ र २४ गते नेपालले केवल दुई दिन बिताएन। यी दुई दिनले राज्यको क्षमता, राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र, सूचना प्रणाली, विकासको मोडल र हाम्रो सामूहिक चेतनामाथि असहज प्रश्नहरू छाडेर गए। भदौ २३ मा सुरु भएको असन्तुष्टि भदौ २४ सम्म आइपुग्दा यस्तो स्वरूपमा बदलियो, जसको प्रभाव सडकमा मात्र सीमित रहेन। राज्यका महत्वपूर्ण संरचना जले, सार्वजनिक सम्पत्तिमा क्षति पुग्यो, प्रशासनिक संयन्त्र हल्लियो र सत्ताको केन्द्र नै असुरक्षित बन्न पुग्यो।

सबैभन्दा ठूलो प्रश्न यहीँबाट सुरु हुन्छ-“आखिर भदौ २३ को असन्तुष्टि भदौ २४ को अराजकतामा कसरी बदलियो ?” त्यसको राजनीतिक नेतृत्व कहाँ थियो ? आयोजक को थियो ? माग के थियो ? त्यो माग कसका सामु राखिएको थियो ? र, राज्यका सुरक्षा तथा सूचना संयन्त्रले यति ठूलो घटनाको पूर्वानुमान किन गर्न सकेनन् ? यी प्रश्नको स्पष्ट उत्तर नआएसम्म भदौ २३-२४ नेपालको समकालीन राजनीतिक इतिहासकै सबैभन्दा जटिल र रहस्यमय अध्यायमध्ये एक बनिरहनेछ।

गोदावरीदेखि सिंहदरबारसम्म : एउटा असहज संयोग ; यस घटनाको अर्को विडम्बना अझ गहिरो छ। सत्तारूढ दल नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न हुँदै गर्दा मुलुकको राजनीतिक नेतृत्व आफ्नो आगामी बाटो, संगठन र नेतृत्व संरचनामाथि छलफल गरिरहेको थियो। तत्कालीन नेतृत्वलाई निरन्तरता दिन सहज हुने गरी विधान संशोधन भयो। मुलुक विकास र समृद्धिको दिशामा अघि बढिरहेको सन्देश दिइयो।

तर त्यसको केही घण्टामै देशको अर्को तस्वीर देखापर्‍यो। राजनीतिक नेतृत्व एउटा तस्वीर प्रस्तुत गरिरहेको थियो, सडकले अर्को तस्वीर देखाइरहेको थियो। २४ घण्टा नबित्दै राज्य संयन्त्रको आत्मविश्वासमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भयो। यही विरोधाभासले आजको सबैभन्दा महत्वपूर्ण प्रश्न जन्माउँछ- राज्यको वास्तविक अवस्था राजनीतिक नेतृत्वले देखेको जस्तो थियो कि सडकले देखाएको जस्तो ?

भदौ २३ लाई असन्तुष्टिको अभिव्यक्तिका रूपमा बुझ्न सकिएला। तर भदौ २४ मा देखिएको हिंसा, आगजनी, तोडफोड र सार्वजनिक सम्पत्तिको विनाशलाई केवल आन्दोलनको सामान्य विस्तार भनेर बुझेर पुग्दैन।आन्दोलनको आफ्नै राजनीतिक चरित्र हुन्छ। माग हुन्छ। नेतृत्व हुन्छ। संगठन हुन्छ। वार्ताको सम्भावना हुन्छ। राज्यसँग संवादको कुनै न कुनै बिन्दु हुन्छ। विद्रोहको पनि कुनै न कुनै घोषित वा संगठित शक्ति हुन्छ। तर भदौ २४ को सबैभन्दा ठूलो रहस्य यही हो- विध्वंसको जिम्मेवारी कसले लियो ? यदि यो आन्दोलन थियो भने यसको राजनीतिक स्वामित्व कहाँ छ ? यदि विद्रोह थियो भने त्यसको नेतृत्व को थियो ?

यदि क्रान्ति थियो भने परिवर्तनको लक्ष्य के थियो ? यी प्रश्नहरू आज पनि उत्तिकै महत्वपूर्ण छन्। किनकि सत्ता परिवर्तन भयो भन्दैमा क्रान्ति भएको हुँदैन। सरकार ढल्यो भन्दैमा व्यवस्था परिवर्तन भएको हुँदैन। सडकमा ठूलो भीड उत्रियो भन्दैमा त्यो स्वतः राजनीतिक आन्दोलन बन्दैन।

राजनीतिक परिणाम र राजनीतिक उद्देश्य एउटै कुरा होइनन्। तर अर्को प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ हामीले केवल भदौ २४ मा भएका आगजनी र तोडफोड गनेर यो अध्याय समाप्त गर्न मिल्दैन। किनकि कुनै पनि ठूलो विस्फोट एक दिनमै जन्मिँदैन। त्यसको पछाडि लामो समयदेखि जम्मा भइरहेको असन्तुष्टि, अविश्वास, अवसरको असमानता, राज्यप्रतिको निराशा, राजनीतिक नेतृत्वप्रतिको दूरी र भविष्यप्रतिको बेचैनी हुन सक्छ।

त्यसैले भदौ २३-२४ लाई बुझ्नु भनेको कसले आगो लगायो ? भन्ने प्रश्न मात्र होइन। त्यसभन्दा गहिरो प्रश्न हो- किन समाजको एउटा ठूलो हिस्सा यति असन्तुष्ट बन्न पुग्यो ? र अझै गहिरो प्रश्न- राज्यले त्यो असन्तुष्टि समयमै किन सुन्न सकेन ? खरानीमा राज्यका संरचना, तर बाँकी रह्यो प्रश्न आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी कार्यालय, अदालत, ऐतिहासिक तथा प्रशासनिक संरचनाहरू आज पनि राज्यको असफलताको दृश्य प्रमाणजस्ता देखिन्छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि सिंहदरबार र शीतल निवाससम्मका संरचनाको पुनर्निर्माण आफैंमा एउटा अर्को बहस बनेको छ।

भवनहरू पुनः बनाउन सकिन्छ।

सडक फेरि बनाउन सकिन्छ।

पुल फेरि बनाउन सकिन्छ।

विद्युत आयोजना पुनः उठाउन सकिन्छ।

तर राज्यप्रतिको विश्वास कसरी पुनर्निर्माण गर्ने ? यही प्रश्न सबैभन्दा कठिन हो। पुनर्निर्माणको अर्थ पुरानै ठाउँमा पुरानै गल्ती दोहोर्‍याउनु होइन भदौ २४ पछि हामीले एउटा अवसर पनि पाएका छौं-आफूले बनाएको विकासको मोडललाई पुनः हेर्ने। हामीले सडक बनायौं। पुल बनायौं। सहर विस्तार गर्‍यौं। जलविद्युत आयोजना निर्माण गर्‍यौं। पर्यटनको पूर्वाधार विस्तार गर्‍यौं। तर प्रश्न अब यो होइन कि हामीले कति बनायौं।

प्रश्न हो- हामीले बनाएका संरचना संकटको दिनमा कति टिक्छन् ?एउटा सडक बन्द हुँदा अर्को बाटो छ ?एउटा पुल भत्किँदा वैकल्पिक सम्पर्क छ ? एउटा ऊर्जा आयोजना बन्द हुँदा अर्को स्रोत छ ?एउटा प्रशासनिक केन्द्र असुरक्षित हुँदा राज्य चलाउने वैकल्पिक क्षमता छ ?   यदि उत्तर छैन भने हाम्रो विकास ठूलो देखिए पनि लचिलो छैन। यहीँबाट भ्याल प्लमवुडको प्रकृति-मानव सम्बन्धसम्बन्धी चेतना र ई. एफ. शुमाकरको विकेन्द्रीकृत तथा मानवीय आकारको विकाससम्बन्धी विचार आजको नेपालका लागि सान्दर्भिक बन्न पुग्छ। हामीले प्रकृतिलाई जित्ने होइन, प्रकृतिसँग मिलेर बाँच्ने पूर्वाधार बनाउनुपर्नेछ। हामीले सबै कुरा एउटा ठाउँमा थुपार्ने होइन, वैकल्पिकता र विकेन्द्रीकरण निर्माण गर्नुपर्नेछ। ठूलो आयोजना चाहिन्छ। ठूलो सहर चाहिन्छ। ठूलो अर्थतन्त्र चाहिन्छ। तर ठूलो प्रणालीभित्र सानो-सानो वैकल्पिक प्रणालीहरूको सुरक्षा जालो पनि चाहिन्छ।

भदौ २३-२४ को सबैभन्दा ठूलो पाठ

यो घटनालाई केवल राजनीतिक संकट भनेर बिर्सने हो भने हामीले ठूलो अवसर गुमाउनेछौं।यसलाई केवल आपराधिक घटना भनेर टुंग्याउने हो भने पनि प्रश्नहरू अधुरा रहनेछन्।यसलाई केवल आन्दोलन भनेर महिमामण्डन गर्ने हो भने पनि इतिहासप्रति अन्याय हुनेछ। र, यसलाई केवल विध्वंस भनेर हेर्ने हो भने त्यस विध्वंसको सामाजिक पृष्ठभूमि बुझ्ने अवसर गुम्नेछ। त्यसैले भदौ २३-२४ लाई एउटा ऐतिहासिक चेतावनीका रूपमा पढ्नुपर्नेछ।राज्यले जनताको असन्तुष्टि समयमै सुन्नुपर्छ। राजनीतिक दलले समाजको बदलिँदो मनोविज्ञान बुझ्नुपर्छ। सुरक्षा संयन्त्रले जोखिमको पूर्वानुमान गर्न सक्नुपर्छ।प्रशासनले संकटमा वैकल्पिक योजना राख्नुपर्छ। र विकास योजनाले प्रकृति तथा विपद्जो-खिमलाई केन्द्रमा राख्नुपर्छ। किनकि राज्य बलियो हुनु भनेको केवल सुरक्षा निकाय बलियो हुनु होइन। राज्य बलियो हुनु भनेको जनताको विश्वास बलियो हुनु हो।

अब प्रश्न : हामी कहाँ जाने ? भदौ २४ को आगोले धेरै कुरा जलायो। तर त्यसले एउटा अवसर पनि छोडेर गएको छ।

हामीले पुरानै राजनीति फर्काउने कि नयाँ राजनीतिक संस्कार निर्माण गर्ने ? पुरानै विकासको नक्सा दोहोर्‍याउने कि जोखिमसहितको नयाँ नक्सा बनाउने ? केन्द्रीकरण बढाउने कि वैकल्पिकता निर्माण गर्ने ? प्रकृतिलाई नियन्त्रण गर्ने सोच राख्ने कि प्रकृतिका सीमाभित्र विकास गर्ने ? आजको नेपालले यही निर्णय गर्नुपर्नेछ।

भत्किएका भवनहरू उठाउनु पुनर्निर्माण हो। तर भदौ २४ जस्तो अवस्था फेरि नआउने राज्य निर्माण गर्नु रूपान्तरण हो। त्यसैले भदौ २३-२४ लाई हामीले केवल दुई दिनको हिंसा र विध्वंसका रूपमा सम्झनु हुँदैन। यी दुई दिनलाई नेपालको राजनीतिक, सामाजिक र विकास-चेतनाको ऐतिहासिक मोड बनाउन सक्यौं भने मात्रै त्यसको अर्थ हुनेछ।

आगो निभिसकेको हुन सक्छ। तर त्यसले छोडेको प्रश्न अझै बलिरहेको छ- “राज्य कहाँ थियो, समाज किन यति टाढियो, र अबको नेपाल कस्तो बनाउने ?”

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय