काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा सक्रिय रहेको योङ्ग कम्युनिस्ट लिग(वाइसीएल)ले पीडितहरूको अस्थायी आवास निर्माण काम सुरु गरेको छ । भदौ १० गते भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढी आएसँगै वाइसीएलले ६०० स्वयंसेवक उद्धार तथा राहत कार्यमा नियमित परिचालन गरेको थियो ।
प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारसँगै घाइतेहरूको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने र प्रभावित परिवारको गास, बास तथा अन्य आवश्यकतामा सहयोग गर्ने काम गरिरहेको थियो । तर, बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणसँगै अब अस्थायी आवास निर्माणमा काम गरिरहेको अध्यक्ष पुष्प ओलीले बताए । ‘आजको दिनसम्म पनि पीडित परिवारको घर सरसफाइ हुन् सकिरहेको छैन भने बस्ने वासको टुङ्गो छैन यही समस्यालाई मध्यनजर गर्दै अस्थायी आवास निर्माणको आवश्यकता परेको हो’, उनले भने, ‘राहत वितरण सँगसँगै धादिङ र नुवाकोटका घरहरू सरसफाइ गरिरहेको छ , स्थानीय बासीहरूकै सुझाव अनुसार अस्थायी आवास निर्माण पनि सुरु गरेको छ।’ उनका अनुसार पहिले चरणमा नुवाकोटको बेलकोटगढि नगरपालिका वार्ड नम्बर ७ को ठुलो खोला , लामोस्वती , रातमाटे , माहादेव फाट का प्रभावित परिवारको लागि १५० वटा अस्थायी आवास निर्माण हुने छन्। ओलीले अरू जान नसकेको र गर्न नसकेको काम वाइसीएलले गरेको दाबी गरे ।
उनले भने, ‘अन्यले गर्न नसकेको काम हामीले गरिरहेका छौँ । वैकल्पिक सडक हुँदै कठिन भूगोल र मौसमी प्रतिकुलता पार गर्दै रसुवामा अति आवश्यक सामग्रीहरू ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेटहरू, सेनिटरी प्याड, म्याट्रेस लगायत सामग्री लगेर पुग्यौँ । नुवाकोटको त्रिशूली पारी सडक सञ्जाल विच्छेद भए पश्चात धादिङको बाटो कठिन भूगोल पार गर्दै विदुर नगरपालिकाका अति नै प्रभावित वडाहरू ७,८ र ९ त्यहाँ आवश्यक परेका सामग्रीहरू सिरक, डसना, तन्ना लगायत, औषधिहरू, स्टेसनरी सामग्री, म्याट्रेस खाद्यान्न सामग्री चप्पलहरु, बच्चाको कपडाहरु सहित पुग्यौँ ।
मातृ पार्टी संयोजक प्रचण्डको निर्देशन र स्थानीय आवश्यकता अनुसार काम भइरहेको अध्यक्ष ओलीले बताए । अभियान मार्फत बाढी पीडितहरूलाई खाना पकाउने ग्यास , खाद्यान्न उपलब्ध गराइरहेको छ , चरम ग्यास अभावका बाबजुद सीमित श्रोत ,साधन, केन्द्र सरकारको असहयोग लगायतका प्रतिकुलताका बाबजुद सांगठनिक जनसम्पर्क केहि सहयोगी दाताहरूको सहयोग मार्फत काम गरिरहेको ओलीले जानकारी दिए ।





