रौतहटको लालबकैया खोलाबाट अवैध रूपमा बगाएर ल्याइएको साल जातको काठ बरामद भएको छ।

डिभिजन वन कार्यालय, रौतहटका वन कर्मचारी तथा सुरक्षाकर्मी सम्मिलित टोलीले सोमबार बिहान करिब २ बजे जङ्गलसहिया सब-डिभिजन वन कार्यालयको कार्यक्षेत्रअन्तर्गत लालबकैया खोलाको गर्जा पुलनजिकबाट काठ बरामद गरेको हो।

वन अधिकृत अनिलकुमार महतो, विनोद जेठरा र शेरबहादुर बुढाको संयुक्त गस्ती टोलीले खोलामा निगरानी गर्ने क्रममा पानीमा बगाएर ल्याइएको अवस्थामा काठ फेला पारेको थियो। काठ फेला परेपछि थप सहयोगका लागि जङ्गलसहिया सब-डिभिजन वन कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरीसहितको संयुक्त टोली घटनास्थल पुगेको थियो।

वन कार्यालयका अनुसार बरामद काठमध्ये साल जातका ४ थान गोलिया र १ थान चौपाटा गरी जम्मा ५ थान रहेका छन्। बरामद काठको कुल परिमाण २७.४७ क्युबिक फिट रहेको छ।

वन कर्मचारी तथा सुरक्षाकर्मीको टोली देखेपछि काठ तस्करीमा संलग्न व्यक्तिहरू काठ छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएको वन कार्यालयले जनाएको छ। बरामद काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित वन कार्यालयको नियन्त्रणमा राखिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय