काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको बैठक सोमबार बिहान बसिरहेको छ । देउवा निवास चुनदेवीमा बैठक बसिरहेको नेता एनपी साउदले जानकारी दिए ।

आइतबार बसेको गगन थापा नेतृत्वको संस्थापनको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो ।

यस विषयमा आफ्नो  औपचारिक धारणासहित आवश्यक निर्णय गर्न बैठक बसिरहेको साउदको भनाइ छ ।  ‘हामी कसरी अगाडि बढ्ने भन्ने निर्णय लिन बैठक बसिरहेका छौँ,’ साउदले रातोपाटीसँग भने, ‘आइतबारकै निर्णयका आधारमा महाधिवेशनमा भाग लिन सक्ने अवस्था छैन ।’

अर्का नेता दीपक खड्काले बैठकले महाधिवेशनमा भाग नलिने निर्णय गर्ने जानकारी दिए । ‘अहिले बैठक बसिरहेका छौँ । बैठकबाट महाधिवेशनमा माग नलिने निर्णय गछौँ,’  खड्काले भने ।

गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समितिको असहमतिबिच तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ । देउवा र डा शेखर कोइराला समूहले विशेष महाधिवेशनलाई मानिरहेको छैन । उनीहरूले आफूहरूका तर्फबाट एकपछि अर्को माग राख्दै आएका छन् ।

देउवा र डा शेखर समूहले राखेका १५ औँ महाधिवेशनका लागि गत पुस मसान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिने र १४ औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनपछि बनेको केन्द्रीय समितिमा समावेश गर्ने माग राखेका थिए । त्यो माग कार्यसम्पादन समितिले पूरा गरे पनि उनीहरू विशेष महाधिवेशनबाट आएको समितिले आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने महाधिवेशनमा सहभागी नहुने बताइरहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय