काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबाट प्राप्त सुझावका आधारमा शिक्षा प्रणाली तथा पाठ्यक्रममा सुधार गरिने बताएका छन् ।
मधेश प्रदेश भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालय पुगेर विद्यार्थी, शिक्षक र अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उनले काठमाडौँमा बसेर मात्र पाठ्यक्रम बनाउने अभ्यास अन्त्य गर्नुपर्ने बताएका थिए । विद्यार्थीका सुझाव र गुनासोलाई समेटेर नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने उनको भनाइ थियो ।
विद्यार्थीहरूले पाठ्यक्रममा व्यवहारिक तथा जीवनोपयोगी विषय समावेश गर्नुपर्ने, अध्ययनसँगै सीप विकासमा जोड दिनुपर्ने तथा विद्यालयको भौतिक र प्रविधिगत अवस्था सुधार गर्नुपर्ने सुझाव दिएका थिए ।
मन्त्री पोखरेलले मधेशमा गुणस्तरीय इन्जिनियरिङ तथा कृषि शिक्षाको विस्तार आवश्यक रहेको बताउँदै शिक्षा क्षेत्रका स्थानीय समस्या र आवश्यकतालाई आधार बनाएर आगामी नीति तथा कानुन निर्माण गरिने बताएका छन् ।






