काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले भारतमा आयोजित ब्रिक्स सम्मेलनको निम्तोमा नेपाल किन छुट्यो भनेर प्रश्न गरेकी छन् ।
‘सरकारलाई म सोध्न चाहन्छु, छिमेकमै भएको ब्रिक्सको निम्तोबाट नेपाल किन चुक्यो ? के यो परराष्ट्र नीति र कूटनीतिको असफलता होइन र ?’ प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनिन् ।
नेपाल ब्रिक्स सदस्य राष्ट्र होइन । तर विगतमा सर्वेक्षक वा अतिथिको रूपमा आयोजक राष्ट्रले नेपाललाई बोलाएका थिए ।
सन् २०१६ मा ब्रिक्स सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएको थियो । त्यो बेलामा प्रचण्डले नेपाल, भारत र चीनबीत त्रिदेशीय साझेदारीको विषयमा छलफल गरेका थिए ।तर अहिले शक्तिशाली सरकारको उपस्थिति ब्रिक्स सम्मेलनमा हुन नसकेको भनेर नेकपाकी सांसद शर्माले सरकारलाई प्रश्न गरेकी हुन् ।








