काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशनहरू सुरु हुँदैछ ।
पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने भनेको छ ।
२०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यहरू आ–आफ्नो वडाको अधिवेशनमा भाग लिँदै छन् ।
सभापति गगन थापाले १५औं महाधिवेशनका लागि वडा तहबाट सुरु हुन गइरहेको अधिवेशनमा उत्साहका साथ सहभागी हुन आह्वान गरिसकेका छन् ।
अधिवेशनमा वडा क्षेत्र भित्रका क्रियाशील सदस्यहरू वडा अधिवेशनका सदस्य हुने छन् । वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव एक र एक सह–सचिव निर्वाचित गर्नेछ ।
कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन् ।
गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्ष मुनिको एक युवासहित सात जनालाई वडा सदस्यमा निर्वाचित हुने छन् ।
कांग्रेस विधानमा नगर–उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र ३० वर्ष मुनिका दुई युवासहित आठ जनालाई वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ ।
यस्तै, महानगरपालिकाको वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्ष मुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुन्छन् ।
कांग्रेसको विधानमा वडा सभापतिलाई वडा सदस्यका लागि मनोनीत गर्ने अधिकार स्थानीय तहअनुसार फरकफरक व्यवस्था गरिएको छ । जसअनुसार गाउँपालिका वडा सभापतिले पाँच, नगर–उपमहानगरपालिका वडा सभापतिले ६ र महानगरपालिका वडा सभापतिले सात जनालाई मनोनीत गर्न पाउँछन् ।
वडा सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था तथा समावेशी सिद्धान्तअनुरूप सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यकको प्रतिनिधित्व, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व, युवा प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट वडा सदस्य मनोनीत गर्नुपर्ने वैधानिक प्रावधान छ ।
कांग्रेसको विधानअनुसार प्रत्येक महिनामा कम्तीमा एक पटक वडा कार्यसमितिको बैठक बस्नुपर्ने हुन्छ । क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई वडा कार्यसमितिको बैठकमा आवश्यकताअनुसार आमन्त्रण गर्न सकिने विधानमा उल्लेख छ ।
यस्तै वडा कार्यसमितिले मातहतका टोल कार्यसमितिका सभापतिलाई वडा कार्यसमितिको बैठकमा अनिवार्य आमन्त्रण गर्नुपर्ने हुन्छ ।
कांग्रेसको विधानमा एउटै व्यक्ति क्षेत्रीय अधिवेशन प्रतिनिधि र गाउँपालिका वडा कार्यसमितिमा बस्न सक्ने प्रावधान छ ।








