काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन शनिबार (भोलि)देखि सुरु हुँदैछ । यद्यपि अर्को पक्षले समानान्तर गतिविधि अघि बढाउने देखिएको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासहितका वरिष्ठ नेताहरू यो अधिवेशनमा सहभागी हुने वातावरण बनेको छैन ।गगन थापा नेतृत्वको कार्यसमितिले महाधिवेशनको अन्तिम तयारी गरिरहँदा निवर्तमान कार्यवाहक सभापति खड्का र नेता डा. कोइरालाले अपिलमार्फत महाधिवेशनको मिति केही पर सारेर सहमतिको प्रयास गर्न आग्रह गरेका छन् । डा. कोइरालाले सार्वजनिक अपिल नै जारी गरेका छन् भने खड्काले फेसबुकमा लामो स्ट्याटस लेखेका छन् ।खड्काले ‘विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाजीलाई मेरो विशेष आग्रह अनि मेरो सुझाव’ शीर्षकमा लेखेका छन् :–

तपाईं आज जुन निर्णयमा पुग्नु भो, त्यो निर्णय वैशाख २१ को हामीबिच भएको सम्वादपछि त्यही महिनामा निर्णय गर्नु भाको भए, जेठको पहिलो साताभित्र सिङ्गो कांग्रेस तपाईंको नेतृत्वमा सानेपा पार्टी केन्द्रीय कार्यालयमा सम्पूर्णरूपमा एकताबद्ध भएर जुरुक्क उभिन्थ्यो । देशभरिमात्र होइन, संसारभरि रहनुभएका नेपाली कांग्रेसका नेता, सदस्य, शुभचिन्तक सबैमा कति ठुलो उत्साह, हौसला र पार्टी निर्माणका लागि कति ठुलो ऊर्जा सिर्जना हुन्थ्यो होला ?

गम्भीर रूपमा आत्मसमीक्षा गर्दै एकपटक पुनः घोत्लिनुस् !

समय बलबान हुन्छ । पुनः कठोर सङ्कल्प गर्नुस्

असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरी घोषणा गरेको १५ औँ महाधिवेशनको कार्यतालिका स्थगन गरी केही समयको लागि सार्नुस् !

तपाईंले पार्टीमा आज गर्नु भएको निर्णयको बलियो जगमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति आदरणीय शीर्षनेता शेरबहादुर देउवाज्यू अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता–संवाद तत्काल प्रारम्भ गर्नुस् । मलाई आत्मविश्वास छ, पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ । 

डा. शेखर कोइरालाले पनि पार्टी एकताका लागि भन्दै आह्वान गरेका छन् । कोइरालाले लेखेका छन् –

दुःखका साथ भन्नुपर्छ यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन्, मलाई थाहा छैन । मलाई यसबाट पीडा छ र मेरो पीडासँग तमाम कार्यकर्ता साथीहरूको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूूमिका होस् भन्ने चाहन्छन् ।

मेरो पीडा कांग्रेसको आसन्न घोषित दुुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो । यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ । मेरो प्रयत्न विगतमा पनि र अहिले पनि यसैमा केन्द्रित छ र रहनेछ ।

तर, संस्थापन भने सर्वोच्च अदालतमा रहेको मुद्दाका कारण यो सम्भवना कम रहेको बताउँछ । यसबारे एक पदाधिकारीले रातोपाटीसँग भने, ‘सर्वोच्च अदालतले पार्टीबारे फैसला गर्दा लेखेको वाक्यांशसँग जोडिएको विषय छ । त्यसैले सेड्युल तलमाथि गर्न सक्ने अवस्था छैन ।’

महामन्त्री प्रदीप पौडेलले सम्मानजनक अवस्थामा सबै महाधिवेशनमा आउने वातावरण बनेको बताउँदै सहभागी हुन आग्रह गरे । ‘सम्मानजनक अवस्थामा सबै आदरणीय नेता साथीहरू अधिवेशनमा आउने वातावरण हामीले निर्माण गरेका छौँ,’ महामन्त्री पौडेलले भने, ‘उहाँहरूका माग पूरा भएका छन् । सबै आदरणीय नेता साथीहरूलाई अधिवेशनमा आउन आग्रह गर्छौं ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय