काठमाडौँ । नेकपा एमालेका युवा सांसद क्षितिज थेवेले पार्टीभित्र नेतृत्व हाँक्ने युवा नेताहरू प्रशस्त भएको बताएका छन् । शुक्रबार सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता थेवेले एमाले सबैभन्दा व्यवस्थित पार्टी भएकाले नेतृत्व हाँक्ने युवाको कमी नभएको बताएका हुन् ।

‘पार्टी पुस्तान्तरण हुँदैछ, हामीले पहिले देखिनै युवाहरूलाई विशेष कोटा राखेर हरेक कमिटीमा समेटेका छौँ’, नेता थेवेले भने, ‘हामीबाट बल्ल अरूले सिक्दैछन् ।’ उनले एमालेमा पर्याप्त युवाहरू रहेको पनि बताए ।

‘एमालेमा हामी युवाहरू पर्याप्त छौँ । देशको नेतृत्व हाँक्न सक्ने युवाहरू छौँ पार्टीभित्र पनि मनग्य युवाहरू छौँ’, उनले भने, ‘पार्टीले सबैभन्दा पहिलेदेखि युवाहरूलाई केन्द्रीय कमिटीमा, प्रदेश कमिटीमा, जिल्ला कमिटीमा कोटा दिएर अगाडि बढाउने पार्टी एमाले हो ।’

गृहमन्त्री सुधन गुरुङले पुराना पार्टीलाई राजनीति सिकाउन आएको भनेर दिएको अभिव्यक्तिबारे थेवेले भने, ‘उहाँहरू मन्त्री भएको केही महिना मात्र हुँदैछ, समय लामो छ । पर्खिनुपर्छ, हेर्नुपर्छ, के रहेछ पोलिटिक्स भनेर ।’

मन्त्री गुरुङले यसअघि दिएका अभिव्यक्तिलाई समेत जनताले सुनिरहेको र हेरिरहेको बताए ।  ‘जेनजी आन्दोलनमा म पोलिटिसियन होइन भन्नुभएको थियो । राजनीति अचम्मको हुँदो रहेछ म सिक्दै छु भन्नुभएको थियो, अहिले सिक्ने होइन सिकाउने ठाउँमा पुगिसक्नुभयो !’, थेबेको भनाइ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय