काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन् । बिहीवार काठमाडौमा आयोजित दोलखाका लोकनायकहरु पुस्तक विमोचन कार्यक्रममा उनले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको बताएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्षको लागी सरकार चालउन जनताबाट म्याण्डेड लिएर आएकोले उसलाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने बताए । पाँच वर्षपछि काँग्रेसले सरकार चलाउनेगरि आफूहरुले तयारी गरिरहेको पनि उनले जानकारी दिए । उनले विगतबाट पाठ सिकेर आफूलाई सच्याउँदै अघि लैजाने बताए ।
उनले नयाँ राजनीतिक शक्तिहरुलाई पनि पुराना दलहरूले गरेको गल्ती र भोगेको संकट नदोहो¥याउन सुझाव दिए । संख्या नै ठूलो भन्ने भ्रमबाट मुक्त हुन पनि सरकारलाई उनले आग्रह गरे । विगतमा कांग्रेस–एमालेले पनि जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूहरूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उनको भनाई छ ।
दुईतिहाइ बहुमत भएपनि निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि राजनीतिक शक्ति कमजोर बन्ने बताउँदै उनले लोकतन्त्रमा नैतिक नेतृत्वको महत्वपूर्ण हुने बताए । सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने उनले बताए ।
उनले भने, ‘हामी एकैपटक माथि मात्रै हेर्यौँ, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्यौँ, त्यसले हामीलाई ठिक ठाउँमा पु¥याउन सक्दैन । हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्याउन चाहन्छौँ। नयाँ साथीहरूले पनि उहाँहरूले नभोगेको कुरा हामीले भोग्यौँ नि त बाबा । हामीले भोगेको कुरा किन तपाईंहरू भोग्नुहुन्छ फेरि ? तपाईंहरू त नभोग्नुस् ।’
सभापति थापाले संसदको गरिमा र सांसदको जिम्मेवारीप्रति पनि प्रश्न उठाएका छन् । संसदमा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने बताउँदै उनले हाल सांसदहरुले जे मन लाग्यो त्यही बोल्ने गरेको आरोप लगाए । उनले भने, ‘यसो संसद तिर हेर्छु, त्यो प्रत्येक जितिसकेको सांसदलाई फुली लगाएजस्तो लागेको छ । मैले जे बोले पनि हुन्छ । मैले जे फुके पनि हुन्छ । संसद हो यो ? संसदको गरिमा हुन्न ? संसदको मर्यादा हुन्न ?’
संसदमा सबैभन्दा बढी सचेत रहनुपर्ने बताउँदै उनले संसद, सरकार, अदालत तथा संवैधानिक निकायमा जिम्मेवारी पाएका सबैले आफ्नो अधिकारको प्रयोग कानुनी रूपमा मात्र नभई जनभावनाका दृष्टिले पनि वैध र औचित्यपूर्ण रुपमा गर्नुपर्ने बताए ।






