भक्तपुरका किरण थापा मगर बागमती प्रदेशको सातौं मुख्यमन्त्री नियुक्त भएका छन् ।
आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलका नेता उद्धव थापाको समर्थनमा ५० वर्षीय थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
स्थानीय तहको जनप्रतिनिधि हुँदै प्रदेश राजनीतिमा उदाएका थापा २०७४ को निर्वाचनमा नेकपा एमालेबाट सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष निर्वाचित भएका थिए ।
वडाध्यक्ष बनेपछि २०७९ सालमा भक्तपुर-२ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भए । प्रदेशसभामा निर्वाचित भएपछि उनी बागमती प्रदेश सरकारमा दुई पटक स्वास्थ्य मन्त्रीसमेत भइसकेका छन् ।
१४ भदौ २०३३ मा जन्मिएका थापाले राजनीतिक यात्रा भने युवा अवस्थामै सुरु गरेको बताए । २०५३ सालमा २० वर्षको उमेरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँ कमिटी अध्यक्ष बनेर सक्रिय राजनीतिमा प्रवेश गरेका उनले राप्रपाका विभिन्न जिम्मेवारीमा रहेर काम गरे ।
थापा २०७१ पुसमा नेकपा एमालेमा प्रवेश गरेका थिए । एमाले भक्तपुर जिल्ला कमिटीको सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा सूर्यविनायक-८ को वडाध्यक्षमा उम्मेदवारी दिए ।
उक्त निर्वाचनमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको अवस्थामा थापा ५७ प्रतिशत मत प्राप्त गर्दै निर्वाचित भएका थिए ।
वडाध्यक्षका रूपमा कार्यकाल पूरा गरेपछि उनको राजनीतिक यात्रा प्रदेशसभातर्फ अघि बढ्यो । २०७९ सालको प्रदेशसभा निर्वाचनमा भक्तपुर-२ (क) बाट सूर्य चिह्न लिएर उम्मेदवारी दिएका थापा निर्वाचित भए ।
पार्टी सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतसँग निकट सम्बन्ध भएका थापा एमालेमा प्रवेश गरेको १२ वर्ष र वडाध्यक्ष भएको ९ वर्षमै मुख्यमन्त्री बन्न सफल भए । राप्रपाबाट राजनीतिमा सक्रिय हुँदै एमाले प्रवेश गरेका थापा अहिले राप्रपाभित्रै खेलेर मुख्यमन्त्री बने। थापालाई समर्थन गरेकै कारण राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गर्ने निर्णय गरिसकेको छ।
प्रदेशसभामा पुगेपछि उनी बागमती प्रदेश सरकारमा साउन २०८१ देखि असार २०८३ सम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा दुई पटक पुगे । एमालेबाट कांग्रेस नेतृत्वको संयुक्त सरकारमा दोहोरिएर मन्त्री बन्ने थापा मात्रै हुन् ।
सफल उद्योगी-व्यवसायीदेखि राजनीतिसम्म
राजनीतिसँगै थापाको अर्को परिचय सफल उद्यमीका रूपमा पनि बनेको थियो । भक्तपुरको सिपाडोलस्थित सरस्वती विद्या गृहमा विद्यालय तथा उच्च शिक्षा अध्ययन गरेका उनले कक्षा ९ मा पढ्दादेखि नै व्यवसाय सुरु गरेका थिए ।
पारिवारिक आर्थिक अवस्था बलियो नभएकाले कक्षा १० पछिको अध्ययनका लागि आफ्नै खर्च जुटाउँदै अघि बढेका थापाले सुरुमा कुखुरापालन व्यवसाय थालेका थिए । त्यसपछि दाना उद्योगलगायत अन्य व्यवसायमा समेत हात हाले । व्यवसायिक क्षेत्रमा सक्रिय रहेकै क्रममा उनले जिल्ला सहकारी संघ भक्तपुरमा २०५६ देखि २०६० सालसम्म काम गरेका थिए ।
सानै उमेरदेखि व्यवसाय र सामाजिक गतिविधिमा संलग्न भएकाले स्थानीयस्तरमा उनको पहिचान राजनीतिज्ञसँगै उद्यमी र सामाजिक अभियन्ताका रूपमा पनि बनेको थियो । थापाको व्यावसायिक सफलता उद्योग हुँदै मनोरञ्जनको क्षेत्र र निर्माणसम्म फैलिएको छ ।
थापा सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्षको भूमिकामा समेत रहेर उद्योगी-व्यवसायीका क्षेत्रमा सक्रिय भएका थिए । उनी नेपाल रेडक्रस सोसाइटी, डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्ष हुँदै खानेपानी समिति, तेक्वान्दो संघ बागमती प्रदेशको कोषाध्यक्षलगायत विभिन्न सामाजिक संघसंस्थामा संलग्न रहे ।
स्थानीय विकासका गतिविधिमा पनि उनको सक्रियता रहँदै आएको थियो । वडाध्यक्ष हुँदा सडक, खानेपानी, पूर्वाधारलगायत नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने विषयलाई प्राथमिकतामा राख्दै काम गरेको उनको दाबी छ ।
सुविधाभन्दा सामाजिक काममा जोड
वडाध्यक्ष रहँदा आफूले पाउने विभिन्न सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी सामाजिक क्षेत्रमा लगाएको थापाले बताउँदै आएका छन् । विद्यालयमा अक्षय कोष स्थापना गरेर उनले त्यसबाट प्राप्त ब्याजमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति उपलब्ध गराउँदै आएका थिए ।






