विराटनगरमा ‘दिव्य ज्योति आँखा अस्पताल’को स्टिकर टाँसेको एउटा भ्यानबाट ठुलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीको भूमिका र अस्पतालको संलग्नताबारे गम्भीर प्रश्न उठेको छ ।
प्रमाण मेट्न खोजिएको आशङ्कामा मोरङ प्रहरीले आफ्नै इन्स्पेक्टरसँग स्पष्टीकरण सोधेको छ भने अस्पतालले उक्त गाडी आफ्नो नभएको दाबी गरेको छ ।भदौ १६ गते मंगलबार राति करिब ११ बजेको समयमा विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बलको टोलीले नियमित चेकजाँच गरिरहेको थियो । सोही क्रममा को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर चेकजाँच गर्न खोज्दा चालक भ्यान छाडेर फरार भए ।सशस्त्र प्रहरीले उक्त भ्यान खानतलासी गर्दा दुई वटा बोरामा प्याक गरिएको करिब ६० किलो अवैध गाँजा फेला पार्यो । बरामद हुँदाको बखत उक्त भ्यानमा ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ लेखिएको स्टिकर स्पष्ट देखिन्थ्यो । सशस्त्र प्रहरीले आवश्यक मुचुल्का उठाएर थप अनुसन्धानका लागि भ्यान र गाँजा इलाका प्रहरी कार्यालय रानी (नेपाल प्रहरी)लाई बुझाएको थियो ।
नेपाल प्रहरीको नियन्त्रणमा पुगेपछि सार्वजनिक भएको भ्यानको तस्बिरमा भने अस्पतालको स्टिकर हटाइएको पाइएको थियो । सशस्त्र प्रहरीले बुझाउँदा स्टिकर भएको तर नेपाल प्रहरीकोमा पुगेपछि स्टिकर गायब भएपछि प्रमाण नष्ट गर्न खोजिएको भन्दै आलोचना सुरु भएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गम्भीर चासो देखाउँदै इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रविण घिमिरेलाई २४ घण्टे लिखित स्पष्टीकरण सोधेका छन् ।
कसको आदेशमा र किन प्रमाणका रूपमा रहनुपर्ने स्टिकर हटाइयो भन्ने विषयमा जवाफ मागिएको छ । एसपी कटवालले घटनाको छानबिन भइरहेको र कोही दोषी देखिए कारबाही गरिने बताएका छन् ।
गाँजा बरामद भएको भ्यानमा आफ्नो नाम जोडिएपछि दिव्य ज्योति आँखा अस्पतालले भने आज नै पत्रकार सम्मेलन गर्दै आफ्नो संलग्नता अस्वीकार गरेको छ । अस्पतालका अध्यक्ष देवा यादवले उक्त भ्यान अस्पतालको स्वामित्वमा नरहेको दाबी गरे । ‘भ्यानमा हाम्रो अस्पतालको नाम लेखिँदैमा त्यो अस्पतालकै हुन्छ भन्ने छैन । उक्त सवारीसँग अस्पतालको कुनै कानुनी वा व्यावसायिक सम्बन्ध छैन,’ अध्यक्ष यादवले भने, ‘संस्थाको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले कसैले नाम दुरुपयोग गरेको हुन सक्छ ।’ अस्पताल प्रशासनले सवारीको वास्तविक धनी पत्ता लगाई कानुनी दायरामा ल्याउन प्रहरीसँग माग गरेको छ ।
हाल प्रहरीले फरार रहेका भ्यान चालक र गाँजा तस्करीमा संलग्न मुख्य गिरोहको खोजी तीव्र बनाएको छ। अस्पतालको स्टिकर प्रयोग गरेर सुरक्षाकर्मीलाई छल्न खोजिएको हो वा यसमा अस्पताल भित्रकै कोही व्यक्तिको संलग्नता छ भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।







