त्रिशूली नदीको बाढीले बगाएर ल्याएको सुन तथा चाँदीका गहनासहित धादिङबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–६ बन्छेटार बस्ने ३५ वर्षीय रामबहादुर तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा अकस्मात् आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजार बस्ने लीलाबहादुर बोगटीको घर बगाएको थियो। घरसँगै बगेका सुनका गहनाहरू भदौ ११ गते तामाङले फेला पारेका थिए। फेला परेका गहना कसैलाई जानकारी नगराई नियतवश आफ्नो घरमा लगेर राखेको कुरा पीडित बोगटीले अन्य मानिसहरूबाट थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्राप्त सूचनाका आधारमा भदौ २६ गते अस्थायी प्रहरी पोस्ट आदमघाट धादिङबाट खटिएको टोलीले तामाङलाई गहनासहित नियन्त्रणमा लिएको हो।प्रहरीले उनको साथबाट सुनजस्तो पहेँलो धातुको बाला तीन टुक्रा, झुम्का दुई थान, सिक्री दुई थान, औँठी दुई थान र रातो पोतेमा जडित मङ्गलसूत्र दुई थान बरामद गरेको छ। यसका साथै चाँदीजस्तो देखिने सेतो धातुको पाउजु दुई जोरसमेत बरामद गरिएको छ।बरामद गरिएका गहनासहित नियन्त्रणमा लिइएका तामाङमाथि चोरी सम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय गजुरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







