काठमाडौं । रुस र युक्रेनबीच जारी द्वन्द्व अब सैन्य मुठभेडका पुराना प्रविधिबाट अगाडि बढेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित पूर्ण स्वायत्त युद्धको युगमा प्रवेश गरेको छ। दुवै देश युद्धमैदानमा एआई-संचालित मानवरहित ड्रोन, स्वतः लक्ष्य पहिचान गर्ने सफ्टवेयर र अत्याधुनिक सैन्य कमान्ड प्रणाली विकास गर्ने प्रतिस्पर्धामा तीव्र रूपमा अगाडि बढेका छन्। सैन्य विश्लेषकहरूका अनुसार, युद्धको मैदानमा देखिएका स्वचालित एआई ड्रोनहरू दुवै पक्षले निर्माण गरिरहेको व्यापक विनाशकारी सैन्य सञ्जालको एउटा सानो र प्रारम्भिक हिस्सा मात्र हुन्।

गत जुलाई ६ मा युक्रेनको दक्षिणी शहर जापोरिज्जियास्थित एउटा पट्रोल पम्पमा रुसी ड्रोन विस्फोट हुँदा १८ वर्षीया लेखाशास्त्रकी छात्रा तेतियाना बुबिनेट्सको मृत्यु भयो। भीषण साउन्डवेभ र ड्रोनका छर्राहरूका कारण भएको उक्त आक्रमणमा परि बुबिनेट्ससँगै अन्य दुई जना सर्वसाधारणले पनि ज्यान गुमाएका थिए।

न्युयोर्क टाइम्सको विश्लेषण अनुसार यो आक्रमण रुसद्वारा एआई-संचालित पूर्ण स्वायत्त अट्याक ड्रोन प्रयोग गरिएको पहिलो अभिलेखित घटना हो। युक्रेनी अधिकारीहरूले ड्रोनको भग्नावशेष परीक्षण गर्दा त्यसमा एन्टिनाको सट्टा अमेरिकी प्रविधि कम्पनी एनभिडियाको एआई-संचालित मिनीकम्प्युटर जडान गरिएको भेटिएको थियो। यस प्रविधिको मद्दतले ड्रोनले कुनै पनि मानवीय नियन्त्रण वा रेडियो सङ्केत बिना नै आफ्नो तोकिएको लक्ष्य (यस केसमा प्रोपेन ट्याङ्क) पहिचान गरी स्वतः लक-अन गरेर हमला गरेको पाइएको थियो।

युद्ध क्षेत्रमा एआईको प्रयोग केवल एउटा ड्रोनमा मात्र सीमित छैन। किङ्स कलेज लन्डनकी रक्षा अध्ययन अनुसन्धानकर्ता मरिना मिरोनका अनुसार यसलाई ‘रिकोनिसन्स-स्ट्राइक आर्किटेक्चर’ भनिन्छ। यस प्रणालीबारे स्पष्ट पार्दै मिरोन भन्छिन्, “यो केवल ड्रोनमा एआई हुनु, त्यसले केही देख्नु र आक्रमण गर्नु मात्र होइन।यो त ड्रोनले केही देखेर सफ्टवेयर कम्प्लेक्समा सञ्चार गर्नु हो, जसलाई प्रत्यक्ष युद्धमैदानको नक्सामा जीपीएस कोडहरू कसरी म्याप गर्ने भन्ने थाहा हुन्छ र त्यसले नजिकैको तोपखाना इकाइलाई सूचित गराउँछ।”

यस्ता एकीकृत युद्धमैदान व्यवस्थापन प्रणालीहरूले केन्द्रीय कमान्ड जस्तै काम गर्छन्। एआईले ड्रोन वा अन्य सैन्य उत्पादनहरूमा जडान गरिएका सेन्सरहरूबाट सङ्कलन गरिएको विशाल डेटालाई तुरुन्तै प्रशोधन गर्छ। यस प्रणालीको मुख्य सामरिक फाइदा भनेको ‘किल चेन’ अर्थात् लक्ष्य खोज्ने, पछ्याउने र ध्वस्त पार्ने प्रक्रियालाई केही मिनेटमै पूरा गर्नु हो। युक्रेनले आफ्नो यस्तो एकीकृत कमान्ड प्रणालीलाई डेल्टा नाम दिएको छ भने रुसले स्वोड ट्याक्टिकल सिचुएसनल अवेयरनेस कम्प्लेक्स नामक कमान्ड प्रणाली सन् २०२५ को अन्त्यतिर सफल परीक्षण गरी युद्धको अग्रपंक्तिमा तैनाथ गरिरहेको छ।

दुवै पक्षले एआई डेटा प्रशोधन भइसकेपछि डिभिसन सपोर्ट सिस्टम (डीएसएस)  ले कमान्डरका अगाडि विकल्पहरू पेश गर्ने र अन्तिम निर्णय मानिसले नै लिने दाबी गरेका छन्। तर मिरोन यसमा आशङ्का व्यक्त गर्छिन् , “त्यो कत्तिको सत्य हो भनेर पत्ता लगाउन पक्कै पनि असम्भव छ। समय र दबाबको स्थितिमा कमान्डरहरूले प्रायः एआईले सुझाव दिए अनुसार नै काम गर्छन्।”

युक्रेनी रक्षा मन्त्रालयका सल्लाहकार सर्ही बेस्क्रेस्तनोभ (जसलाई ‘फ्ल्याश’ भनेर चिनिन्छ) ले सैन्य प्रविधिको भावी दिशाबारे आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन् , “सबै कुरा यसैमा आउनेछ। नेभिगेसन, लक्ष्यको खोज र आक्रमणहरू पूर्ण रूपमा स्वायत्त हुनेछन्।”

हालको समयमा एआई ड्रोनको प्रयोग मुख्य रूपमा लामो दूरीको आक्रमणको अन्तिम चरण (लास्ट–माइल अपरेसन्स) मा हुने गरेको छ। युक्रेनको ‘यास्नी ओछी’ ड्रोन स्ट्राइक युनिटका कमान्डर हेओर्ही भोल्कोभका अनुसार फर्स्ट–पर्सन भ्यु (एफपीभी) ड्रोनहरूले इलेक्ट्रोनिक वारफेयर (रेडियो सङ्केत जाम गर्ने प्रविधि) का कारण सिग्नल गुमाउने सम्भावना हुन्छ। यस्तो स्थितिमा जडान गरिएको एआई मोड्युलले स्वतः नियन्त्रण सम्हालेर लक्ष्यमा सटीक प्रहार गर्छ।

युक्रेनी प्रविधि कम्पनी ‘द फोर्थ ल’ का संस्थापक यारोस्लाभ अझन्युकका अनुसार यो केवल स्वायत्त ड्रोन प्रदर्शन गर्ने होड मात्र नभई स्वायत्ततालाई भरपर्दो, सस्तो र ठूलो मात्रामा तैनाथ गर्ने प्रतिस्पर्धा हो। अझन्युक भन्छन्,“इलेक्ट्रोनिक वारफेयर, लगातार बढ्दै गएको संलग्नताको दूरी र ड्रोनहरूको बढ्दो सङ्ख्याले मानव–नियन्त्रित प्रणालीहरूलाई कम पर्याप्त बनाउँदैछ। स्वायत्तताले ठ्याक्कै यिनै सीमाहरूलाई हल गर्छ।”

उनका अनुसार आगामी ६ देखि १२ महिनाभित्र यो स्वायत्त प्रविधि युद्धको नतिजा बदल्ने निर्णायक कारक बन्नेछ।

यद्यपि, एआई प्रविधिको यो द्रुत प्रयोगले गम्भीर नैतिक र कानुनी प्रश्नहरू खडा गरेको छ। सेन्टर फर स्ट्र्याटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) की वरिष्ठ फेलो क्याटरिना बोन्दारका अनुसार एआईले कुनै विवेक प्रयोग गर्दैन। बोन्दार भन्छन्, “प्रणालीले आफूले के गरिरहेको छ भन्ने बुझ्दैन; यसले केवल एल्गोरिदम र मानिसहरूले बनाएका नियमहरू पालना गरिरहेको हुन्छ। एआईलाई लक्ष्यहरू पहिचान गर्न र ती लक्ष्यहरूमा संलग्न हुन तालिम दिनुपर्छ।”

उनका अनुसार बस र ट्याङ्कबीचको फरक छुट्याउन कोड लेख्न सजिलो भए तापनि रुसी र युक्रेनी सैनिक वा सर्वसाधारणबीचको फरक छुट्याउन एआईका लागि अत्यन्तै कठिन हुन्छ। खराब मौसम र कम गुणस्तरका क्यामेराका कारण एआईले सर्वसाधारण र युद्धरत सैनिकबीचको फरक नछुट्याई आक्रमण गर्न सक्छ।

बोन्दार अगाडि भन्नुहुन्छ, “यसैले निर्णय कसले गर्छ र गल्ती वा त्रुटिहरूको जिम्मेवारी कसको हुन्छ भन्ने विषयमा ठूलो बहस भइरहेको छ।” एआई प्रविधिको यो द्रुत दौडले युद्धलाई थप घातक र अनियन्त्रित बनाउने खतरा बढाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय