काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको डिलमा पुगेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनकाे अन्तिम डिलमा पुगेकाे अवस्था छ !’
पार्टीभित्र दुई पक्षले १५औं महाधिवेशन तोकेर समानान्तर गतिविधि गरिरहँदा कुनै पनि पक्षमा नखुलेका नेता खड्काले सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको जानकारी गराएका छन् ।
खड्काले पुनरावलोकन माग सहित आफू अदालत गएको हुँदा र अदाललते मुद्दा विचाराधिन अवस्थामा राखिरहेकोले महाधिवेशनको प्रक्रिया सहभागी नभएको बताएका छन् ।
‘निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दियो र सो मुद्दा हाल सर्वाेच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ,’ खड्काले भनेका छन्, ‘यस्तो अ्वस्थामा सभापति गगन थापाको नेतृत्वमा प्राम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवशनमा सहभागी नभएको व्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चहान्छु ।’
महाधिवेशनको कार्यहरू रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता गरे पनि कार्यतालिका रोक्न अदालतले आदेश नदिएको हुँदा दुई वटा महाधिवेशन हुने अवस्था आएको उनले बताए ।
अदालतमा विचाराधिन पुनरावलोकनको मुद्दालाई गम्भीरता रूपमा लिएर अग्राधिकारमा राख्ने प्रबन्ध गर्न उनले सर्वोच्च समक्ष आग्रह पनि गरेका छन् ।








