काठमाडौं । एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला नेता सूर्य थापाले महासचिव शंकर पोखरेललगायतका नेताहरुमाथि कटाक्ष गरेका छन् ।
उनले पोखरेलसहित उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरु ओली प्यानलबाटै महाधिवेशनबाट निर्वाचित भएकाले उनीहरुले अहिले आएर राजीनामा माग्न नसुहाउने भन्दै नैतिकताको पाठ पठाएका छन् ।
बरु नेतृत्व र पुनर्गठनको विषयमा फरक समूहमा रहेका ईश्वर पोखरेल,गोकर्ण विष्ट,सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत १२ भाइले ओलीको राजीनामा माग्न सुहाउने उनको भनाइ छ ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्, ‘ईश्वर पोखरेल,गोकर्ण विष्ट,सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत १२ भाइले छाड्नुस भन्न मिल्छ।अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन !’
एमाले पुनर्गठनसम्बन्धी प्रतिवेदनमा पोखरेलले ओलीले राजीनामा दिनुपर्ने उल्लेख गरेका थिए । उक्त प्रतिवेदनको ओलीले विरोध गर्दै आएका छन् भने त्यसको काउन्टरमा उपाध्यक्ष बादल र नेता प्रदीप ज्ञवालीलाई उनले प्रतिवेदन लेख्न लगाएका थिए । तर तीन वटा प्रतिवेदन तयार भइसक्दा पनि विवाद समाधान हुनुको साटो बढ्दै गएको देखिन्छ ।








