नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. २ बाट ३५ वर्षमुनिको उमेर समूहमा निराजन बहादुर शाहीले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् ।
पञ्चदेवल विनायक नगरपालिका–५, लयाटीका शाहीले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । जनमैत्री बहुमुखी क्याम्पस, काठमाडौंको इकाइ सभापतिको जिम्मेवारी सम्हालिसकेका उनी गैरसरकारी तथा सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका शाहीले युवालाई रोजगारी र अवसरसँग जोड्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । महाधिवेशन प्रतिनिधिका रूपमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्यमशीलता, पूर्वाधार र सुशासनका मुद्दा उठाउने उनले बताए ।
स्थानीय स्रोत–साधनको उपयोग गर्दै युवालाई उत्पादन र उद्यमसँग जोड्नुपर्ने उनको भनाइ छ । अछामका विकासका मुद्दालाई पार्टीको आन्तरिक राजनीतिमा मात्र सीमित नराखी सरकार, निजी क्षेत्र, समुदाय तथा विभिन्न साझेदारसँगको सहकार्यमा अघि बढाउनुपर्ने उनले बताए ।
‘युवा पुस्ताको ऊर्जा, नयाँ सोच र आफ्नो संगठनात्मक तथा सामाजिक अनुभवलाई जनसेवासँग जोडेर काम गर्ने प्रतिबद्धता छ,’ शाहीले भने ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछामका ९१ वटै वडामा वडा अधिवेशन र १० वटै पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ । क्षेत्रीय अधिवेशन असोज ११ गते हुने तयारी छ । केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कांग्रेसको कार्यतालिका छ ।








