काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुनेछन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिए पनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार आजै क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार विगत दुई दिन अत्यधिक वर्षा भएको र आज तथा भोलि पनि भारी वर्षा हुने पूर्वानुमानका आधारमा असोज १३ गतेभित्र अनुकूलताअनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिइएको छ । निर्वाचन समितिले विकल्प दिएपछि विशेषगरी पहाडी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरुद्ध बनेका केही निर्वाचन क्षेत्रमा आइतबार र सोमबार अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।आजदेखि पुनः मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाँकीमा सोमबार तथा मङ्गबारसम्ममा अधिवेशन सम्पन्न हुने गरी तालिका बनाइएको छ । उनका अनुसार क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै समस्या नदेखिएकाले सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको छ । सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति, सङ्घीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन् ।








