संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गर्दै समाधानका उपाय खोज्न सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्ने भएका छन्।
कोशी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता रहनेछ। प्रदेशहरूबीच समन्वयको स्थायी आधार तयार गर्ने उद्देश्य तथा संघीयताको मुद्दा बोकेर आयोजना गर्न लागिएको सम्मेलनमा संघीयता कार्यान्वयनका चुनौती, प्रदेशहरूले गरेका असल अभ्यास, संघ र स्थानीय तहसँगको समन्वय तथा कानुनी जटिलताका विषयमा छलफल हुने कोशी प्रदेश सरकारले जनाएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतामा देखिएका चुनौतीका बारेमा साझा धारणा बनाउँदै प्रदेशको आर्थिक समृद्धि र सुशासनका लागि अघि बढ्न सम्मेलन उपयोगी हुने बताए। उनका अनुसार प्रदेश–प्रदेशबीच उत्पादन, व्यापार र पर्यटनका क्षेत्रमा सहकार्य बढाउने विषयलाई समेत सम्मेलनले प्राथमिकतामा राख्नेछ। कोशी प्रदेश योजना आयोगलाई सम्मेलनको तयारी र समन्वयको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आवश्यक समन्वय भइसकेको जानकारी दिए।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार असोज २२ गते सातै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा सम्मेलनको उद्घाटन हुनेछ। त्यसपछि प्रदेशहरूले अभ्यास गरेका सफल कार्यक्रम तथा संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीका बारेमा अन्तरक्रिया हुनेछ। प्रदेश र स्थानीय तहबीचको समन्वय, संघीय सरकारसँगको सम्बन्ध, कानुनी समस्या तथा प्रदेशहरूले सामना गरिरहेका साझा विषय सम्मेलनका मुख्य एजेन्डा हुने निरौलाले बताए।
प्रदेशको पर्यटन प्रवर्धनका लागि मुख्यमन्त्रीहरूलाई विराटनगर आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गराउने कार्यक्रमसमेत तय गरिएको छ। सम्मेलनलाई एक पटकको कार्यक्रममै सीमित नगरी मुख्यमन्त्रीहरूबीच नियमित छलफल र समन्वयका लागि स्थायी फोरम बनाउने तयारी समेत गरिएको छ। निरौलाका अनुसार प्रदेशहरूबीच नियमित संवादको संयन्त्र निर्माण गर्न सके साझा समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सकिने अपेक्षा गरिएको छ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले प्रदेशहरूबीच साझेदारी र सहकार्यका विषयमा प्रत्यक्ष छलफल हुने भएकाले सम्मेलन महत्वपूर्ण हुने बताए। प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गरी समाधानका लागि संयुक्त पहल गर्ने वातावरण निर्माण गर्न सम्मेलन उपयोगी हुने उनको भनाइ छ। उनले प्रदेशहरूबीच सहकार्य विस्तार हुँदा विकास र समृद्धिका क्षेत्रमा नयाँ सम्भावना खुल्ने तथा संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउनसमेत सहयोग पुग्ने बताए।
मुख्यमन्त्री कार्कीका अनुसार सम्मेलनका क्रममा प्रदेश–प्रदेशबीच आर्थिक तथा व्यापारिक साझेदारीका लागि समझदारी गर्ने तयारीसमेत भइरहेको छ। कोशी प्रदेशमा उत्पादित वस्तु अन्य प्रदेशमा पु¥याउने तथा अन्य प्रदेशका उत्पादन कोशीमा ल्याउने वातावरण निर्माण गर्न सहकार्य गरिनेछ। त्यस्तै, पर्यटन प्रवर्धनका सम्भावनालाई उपयोग गर्दै प्रदेशहरूबीच संयुक्त कार्यक्रम र साझेदारी गर्ने विषयमा पनि छलफल हुनेछ । विशेषगरी दुई वा बढी प्रदेशको साझा चासो रहेका पर्यटन तथा आर्थिक गतिविधिलाई सहकार्यका माध्यमबाट अघि बढाउने तयारी छ।
सम्मेलनका लागि आवश्यक समिति गठन, जिम्मेवारी बाँडफाँट र अन्य तयारी प्रदेश योजना आयोगले अघि बढाइसकेको छ। पहिलो पटक आयोजना हुन लागेको मुख्यमन्त्री सम्मेलनलाई प्रदेशहरूबीच नियमित समन्वयको आधार बनाउने कोशी प्रदेश सरकारको तयारी छ।








