काठमाडौँका विभिन्न स्थानबाट ठुलो परिमाणको प्रतिबन्धित लागूपदार्थ, नगद र मोटरसाइकलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ, प्रहरी प्रभाग नागढुङ्गा र लागूपदार्थ नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। असोज ८ गते राति ९:२५ बजे चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा जाँच गर्ने क्रममा १२० क्याप्सुल ट्रामाडोलसहित धादिङको थाक्रे–४ का २२ वर्षीय रुबिन सुनार र धुनिबेँसी–५ का २१ वर्षीय सन्तोष तामाङ पक्राउ परेका थिए। उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धानकै क्रममा असोज ९ गते दिउँसो ३:०० बजे चन्द्रागिरि–१५ नैकापबाट थप तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा चन्द्रागिरि–६ का ३४ वर्षीय विक्रम घले, मकवानपुरको थाहा–१२ का २४ वर्षीय विजय तामाङ र काभ्रेको वेथानचोक–६ का ३४ वर्षीय गणेश लामा रहेका छन्।

विक्रम घलेलाई ट्रामाडोल बिक्री गर्ने व्यक्तिहरूको खोजीका क्रममा सोही दिन साँझ ६:०० बजे काठमाडौँको बौद्ध मूलपानीबाट थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ–२ का ३३ वर्षीय ललितबहादुर स्याङतान र सिन्धुलीको हरिहरपुर–१ का ३२ वर्षीय रत्न तामाङ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ३.०१ ग्राम खैरो हेरोइन, डाइजेपाम ७८२ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल, फेनारगन ७८२ एम्पुल र १६,१४० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ। यसका साथै बा.प्र.०३–००२ प ७४८ नम्बरको एक थान मोटरसाइकल, ६ थान मोबाइल र ५ लाख ६० हजार ४०० रुपैयाँ नगदसमेत जफत गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय