काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सङ्गठनको समग्र दिशालाई निर्धारण गर्न तीन बुँदे प्रस्ताव गरेका छन् । सोमबार कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा सभापतिले थापाले पेस गरेको राजनीतिक प्रतिवेदनमा सङ्गठन निर्धारण सम्बन्धी तीन बुँदे समीक्षा गरेका हुन् ।
पहिलो बुँदामा उनले राजनीतिलाई गठबन्धन व्यवस्थापन र पद बाँडफाँटमा सीमित गर्ने पार्टीले त्यो दायित्व निर्वाह गर्न नसक्ने उल्लेख छ । दोस्रो बुँदामा निर्वाचनमा पराजयको अर्थ बुझ्न २०६२/६३ देखि २०८२ सम्म उपलब्धि र कमजोरीको मूल्याङ्कन गर्नुपर्ने लेखिएको छ । तेस्रोमा लोकतन्त्रको विकल्प कम लोकतन्त्र नभई अझ गहिरो र परिणाम दिने लोकतन्त्र हुनुपर्ने उल्लेख गरेका छन् ।
यस्तो छ तीन बुँदा :
पहिलो, नेपाली कांग्रेस निर्वाचनमा भाग लिने दल हुनु अघि एउटा राष्ट्रिय शक्ति हो। नेपालको इतिहासमा यसको महत्त्व संसदीय अङ्कगणितमा मात्र निर्भर रहेन। राष्ट्रिय शक्ति हुनु इतिहासबाट प्राप्त विशेषाधिकार होइन।
सङ्कटमा लोकतान्त्रिक दिशा दिने, विभाजित समाजलाई जोड्ने र नागरिकको अधिकार तथा साझा भविष्यको जिम्मेवारी लिने निरन्तर दायित्व हो। आज समयले हामीबाट यही भूमिका खोजेको छ। राजनीतिलाई गठबन्धन व्यवस्थापन र पद बाँडफाँटमा सीमित गर्ने पार्टीले त्यो दायित्व निर्वाह गर्न सक्दैन।
दोस्रो, वि.सं. २०६२/६३ देखि २०८२ सम्मका दुई दशकलाई उपलब्धि र कमजोरी दुवैका आधारमा हेरिनुपर्छ। विशेषतः संविधान निर्माणपछिको दशक अरूको असफलताको कथा मात्र थिएन । त्यो हाम्रो आफ्नै पार्टीको उद्देश्य र व्यवहारबिच दूरी बढेको दशक पनि रह्यो । हामीले उद्देश्यभन्दा पद र सत्तालाई महत्त्व दिँदा नागरिकसँगको विश्वास कमजोर भयो। निर्वाचनमा पराजयको अर्थ बुझ्न यस अनुभवको पनि समीक्षा गर्नुपर्छ।
तेस्रो, लोकतन्त्रको विकल्प कम लोकतन्त्र होइन, अझ गहिरो र परिणाम दिने लोकतन्त्र हो। देशभित्र र बाहिर हाम्रा संस्थाको ढिलासुस्ती, दलीय काँटा र सीमित स्वार्थप्रतिको जायज आक्रोशलाई संस्था स्वयंको समस्या हुनेभन्दा भिन्न निष्कर्षमा बदलेर राजनीतिक पाटी विकसित भएको छ।
फलस्वरूप, कुनै बलियो व्यक्तिको इच्छाशक्ति वा पुराना संरचना एकै पटक हटाउने उपायलाई संस्थागत सुधारको विकल्पका रूपमा प्रस्तुत गरिएको छ। हामी ती आक्रोशका कारण बुझ्छौँ र आफ्नो जिम्मेवारी स्वीकार गर्छौँ। तर नागरिकको अधिकार र संस्थाको स्वतन्त्रता कमजोर बनाउने निष्कर्ष कदापि स्वीकार्य छैन ।








