काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको आर्थिक स्रोतलाई थप व्यवस्थित र दिगो बनाउन विभिन्न ११ वटा क्षेत्र पहिचान गरेको छ ।
कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको मन्तव्य तथा आर्थिक प्रतिवेदनमा क्राउडफन्डिङको व्यवस्था गर्नेदेखि नियमित लेवीलाई डिजिटल प्रणालीमार्फत उठाउनेसम्मका प्रस्ताव अघि सारिएको छ ।प्रतिवेदनमा साधारण सदस्य, क्रियाशील सदस्य तथा पदीय जिम्मेवारीअनुसार फरक–फरक लेवी निर्धारण गरी डिजिटल क्यूआर तथा अनलाइन भुक्तानी प्रणालीमार्फत रकम संकलन गर्ने उल्लेख छ ।त्यस्तै, पार्टीका सदस्य नभएका शुभेच्छुकबाट समेत स्वेच्छिक वार्षिक सहयोग जुटाउन ‘कांग्रेस वार्षिक सपोर्ट अभियान’ सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कांग्रेसमा आबद्ध उद्योगी तथा व्यवसायीसँग कानुनअनुसार पारदर्शी रूपमा स्वैच्छिक योगदान लिने संरचना निर्माण गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
कांग्रेसले डाक्टर, इन्जिनियर, वकिल, चार्टर्ड एकाउन्टेन्ट, सूचना प्रविधि तथा बैंकिङ क्षेत्रका व्यक्तिहरूलाई समेटेर छुट्टै व्यावसायिक सञ्जाल निर्माण गर्ने योजना पनि अघि सारेको छ ।
विदेशमा रहेका भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट सहयोग जुटाउने तथा अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, युरोप र मध्यपूर्वलगायत क्षेत्रमा रहेका नेपाली तथा कांग्रेस समर्थित व्यक्तिलाई संगठित गरी सहयोग परिचालन गर्न ‘कांग्रेस डायस्पोरा नेटवर्क’ निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
यी हुन् उल्लिखित ११ क्षेत्र
१ सदस्यता र नियमित लेवी प्रणाली — साधारण सदस्य, क्रियाशील सदस्य र पदीय जिम्मेवारीअनुसार फरक–फरक लेवी तथा डिजिटल क्यूआर र अनलाइन भुक्तानी प्रणाली।
२ कांग्रेस वार्षिक सपोर्ट अभियान — पार्टीका सदस्य नभएका शुभेच्छुकबाट समेत स्वैच्छिक वार्षिक सहयोग संकलन।
३ उद्योगी तथा व्यवसायीसँग स्वैच्छिक योगदान — कांग्रेसमा आबद्ध उद्योगी तथा व्यवसायीसँग कानुनअनुसार पारदर्शी रूपमा स्वैच्छिक योगदान लिने संरचना निर्माण।
४ प्रोफेसनल नेटवर्क — डाक्टर, इन्जिनियर, वकिल, चार्टर्ड एकाउन्टेन्ट, सूचना प्रविधि तथा बैंकिङ क्षेत्रका व्यक्तिहरूलाई समेटेर छुट्टै सञ्जाल निर्माण।
५ विदेशमा रहेका भ्रातृ तथा शुभेच्छुक संस्थाबाट सहयोग — विदेशमा रहेका कांग्रेसका भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट सहयोग परिचालन।
६ कांग्रेस डायस्पोरा नेटवर्क — अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, युरोप, मध्यपूर्वलगायत क्षेत्रमा रहेका नेपाली तथा कांग्रेस समर्थित व्यक्तिलाई संगठित गरी सहयोग जुटाउने।
७ उच्च आर्थिक क्षमता भएका समर्थकबाट सहयोग — १०० देखि २०० जना उच्च आर्थिक क्षमता भएका समर्थकको सूची तयार गरी व्यक्तिगत भेटघाटमार्फत सहयोग माग्ने।
८ कांग्रेस डेभलपमेन्ट फन्ड — पार्टीको दीर्घकालीन पूर्वाधार, अनुसन्धान, तालिम तथा सांगठनिक विकासका लागि छुट्टै कोष स्थापना।
९ कांग्रेस लिडरसिप डेमोक्रेसी डिनर — व्यवसायी, पेसाकर्मी तथा विज्ञलाई आमन्त्रण गरी स्रोत परिचालन गर्ने।
१० प्रकाशन तथा डिजिटल मिडिया — पुस्तक, अनुसन्धान, प्रतिवेदन, नीतिपत्र, पत्रिका, वृत्तचित्र तथा डिजिटल सामग्री तयार गरी स्रोत परिचालन।
११ प्रदेश र जिल्ला फन्डरेजिङ — सातै प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र तथा स्थानीय तहसम्म वार्षिक फन्डरेजिङ लक्ष्य निर्धारण गरी रकम संकलन गर्ने।








