काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाएका छन् ।
एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको दाबी गर्दै अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।
यस प्रकरणमा उठेका प्रश्नको लिखित प्रतिक्रिया दिन रास्वपा केन्द्रीय अनुशासन आयोगले मंगलबार सुनारलाई पत्र पठाएको थियो । आयोगमा जवाफ पठाउँदै सुनारले आफूमाथि लगाएको आरोप अस्वीकार गरेको आयोगका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।
‘तोकिएकै समयमा उहाँ(खगेन्द्र सुनार)ले लिखित प्रतिक्रिया दिनुभएको छ । पत्रमा आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ’, रातोपाटीसँग ती सदस्यले भने, ‘आरोप स्वीकार गरेको भए कारबाही प्रक्रिया अगाडि बढ्थ्यो । उहाँले स्वीकार पनि गर्नुभएको छैन । पीडित पक्षबाट उजुरी पनि नआएकाले स्वतन्त्र छानबिन प्रक्रिया अगाडि बढाउँछौँ ।’
आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरी महिलासँग ‘ब्ल्याकमेलिङ’ गरेको सुनिने अडियो सोमबार जनआस्थाले सार्वजनिक गरेको थियो । उक्त अडियोलाई लिएर चौतर्फी आलोचना बढेपछि रास्वपाले सत्यतथ्य अनुसन्धान गरी छानबिन प्रक्रिया अगाडि बढाउन पार्टी अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।
अयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले पहिलो चरणमा लिखित प्रतिक्रिया लिने काम सम्पन्न भएको र दोस्रो चरणको छानबिन प्रक्रिया अगाडि बढेको बताए ।
‘विषयवस्तुको गाम्भीर्य र अति संवेदनशील विषय भएको हुनाले उहाँको लिखित प्रतिक्रियाको अलावा दोस्रो चरणको छानबिन प्रारम्भ भएको छ’, उपप्रमुख भट्टराईले भने ।
दोस्रो चरणमा अडियो प्रदायक(वास्तविक स्रोत)सम्म पुगी प्रमाण सङ्कलन गर्ने, कागजात मगाउने कामको प्रारम्भ भएकाले त्यसका लागि सम्बन्धित मिडिया हाउससँग पत्राचार गर्ने उनले बताए । भट्टराईले भने, ‘उहाँ(खगेन्द्र सुनार)सँग उठेका प्रश्नको सन्दर्भमा सम्बन्धित कुराको प्रमाण सङ्कलन भइराखेको छ । आवश्यक परे विशेषज्ञको राय, भेरिफेकेसन गर्न सकिने छ । अनुसन्धान गहिराइसम्म पुग्न र चुस्त दुरुस्त वस्तुनिष्ठ छानबिनको लागि छुट्टै विशेष छानबिन समिति गठन गरेको छ ।’
उपप्रमुख भट्टराईकै संयोजकत्वमा आयोगका सदस्यहरू रहेको छ उनले जानकारी दिए । उनका अनुसार अनुसन्धानलाई तीव्रता दिनका लागि छानबिन समितिले बाँकी रहेका कार्यहरू सम्पन्न गरी रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोग समक्ष पेस गर्ने जिम्मेवारी तोकिएको छ ।
बिहीबार बसेको आयोगको बैठकले समिति गठन गरेको भट्टराईले जानकारी दिए । समितिले बिहानै देखि काम सुरु गरेको छ । ‘बैठकले अडियो सार्वजनिक गर्ने जनआस्था साप्ताहिक पत्रिकालाई भिडियो, अडियो वा अन्य कागजातहरू छानबिन समितिलाई उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको छ’, भट्टराईले भने ।








