नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन्।त्रिवि क्रिकेट स्टेडियममा आज पहिलो खेल साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्सले खेल्दैछन्। चितवन राइनोज लिग चरणको अन्तिम खेल अगावै प्लेअफ प्रवेश गरिसकेको छ। कर्णाली याक्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ।

चितवन राइनोजले आज कर्णाली याक्सलाई हराएको खण्डमा र काठमाडौँ गोर्खाज आज अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग हारेको खण्डमा काठमाडौँ र चितवनले एलिमिनेटर खेल्नेछन्।

त्यस्तै, आजको दोस्रो खेल काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्स बीच अपरान्न ५ बजे हुँदैछ। पोखरा एभेन्जर्स तालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ भने काठमाडौँ गोर्खाजको लागि भने यो खेल निकै महत्त्वपूर्ण हुनेछ। काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको खण्डमा काठमाडौँ गोर्खाज क्वालिफायर प्रवेश गर्न सक्नेछ।

काठमाडौँले पोखरालाई हराएको खण्डमा काठमाडौँ र सुदूरपश्चिम रोयल्सको रन रेटको हिसाबमा क्वालिफायर खेल्ने दोस्रो टिम को टुङ्गो लाग्नेछ।

क्वालिफायर खेल्ने पहिलो टोली भने पक्का भइसकेको छ। लुम्बिनी लायन्सले ७ खेलमा ५ जित र १ हार र एक खेलमा अंक बाँड्दै ११ अंक लिएर तालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायर खेल्ने पक्का भइसकेको छ ।

हाल तालिकाको दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स रहेको छ।  सुदूरपश्चिमले ७ खेलमा ५ जित र २ हारसहित १० अंक  जोडेको छ। यदि आजको खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई हराएको खण्डमा सुदूरपश्चिम र काठमाडौँको नेट रन रेटको हिसाब हुनेछ।

आजको दुई खेलले लुम्बिनी लायन्ससँग क्वालिफायर खेल्ने टोली तथा चितवन राइनोजसँग एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लगाउनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय