इटालीको उत्तरी क्षेत्रमा पर्ने डोलोमाइट्स पर्वतको दुर्गम गुफामा हिमयुगका गुफामा बस्ने विशाल भालु (केभ बियर)का सयौँ हड्डी र खप्पर फेला परेका छन् । करिब २४ हजार वर्षअघि लोप भएको मानिने हिमयुगिन केभ बियरका अवशेष भेटिएपछि वैज्ञानिकहरूले यसलाई हिमयुगको जीवजन्तु र वातावरणबारे नयाँ जानकारी प्राप्त गर्ने महत्त्वपूर्ण खोजका रूपमा लिएका छन् ।
इटालीको दक्षिण टायरोल क्षेत्रमा पर्ने फानेस–सेनेस–ब्राइस प्राकृतिक निकुञ्जभित्र रहेको उक्त गुफा पर्वतारोहण गाइड कुर्ट वाल्डेले सन् २०२६ को जुलाईमा पत्ता लगाएका हुन् । समुद्री सतहबाट करिब दुई हजार ८५० मिटर उचाइमा रहेको गुफासम्म पुग्न उनले अत्यन्त जोखिमपूर्ण चट्टानी भीर पार गर्नुपरेको थियो ।
करिब साढे तीन वर्षअघि पर्वतको एउटा भीरमा कालो दागजस्तो देखिएको स्थानलाई उनले सम्भावित गुफाको प्रवेशद्वारका रूपमा पहिचान गरेका थिए । त्यसपछि लामो समयको प्रयासपछि जुलाई २०२६ मा उनी त्यहाँ पुग्न सफल भए ।
गुफाभित्र प्रवेश गर्दा टर्चको प्रकाशमा उनले हड्डी र खप्परहरू छरिएको असाधारण दृश्य देखे । गुफाको भित्री भागमा प्रवेश गर्दै जाँदा ठुलो सङ्ख्यामा हड्डी र खप्पर भेटिए । केही हड्डी एक आपसमा जोडिएको अवस्थामा थिए भने केही अस्वाभाविक रूपमा ठुला ढुङ्गामाथि राखिएको थुप्रो जस्तो देखिन्थे ।
वाल्डेका अनुसार गुफाभित्र भेटिएका अवशेषहरू सम्भवतः ‘अर्सस लाडिनिकस’ प्रजातिका भालुका हुन् । यो प्रजाति करिब २४ हजार वर्षअघि लोप भएको मानिन्छ ।
सन् १९८७ मा पत्ता लागेको कन्टुरिनेस गुफामा भेटिएका भालुका अवशेषले यस प्रजातिबारे वैज्ञानिक बुझाइमा ठुलो परिवर्तन ल्याएको थियो । ती भालु करिब एक हजार २०० किलोग्रामसम्म तौलका र तीन मिटरसम्म लामा हुने अनुमान गरिएको थियो । उनीहरू शाकाहारी थिए र पहाडी क्षेत्रमा पाइने जडीबुटी, पात तथा घाँस खान्थे ।
नयाँ गुफामा कन्टुरिनेसभन्दा पनि धेरै अवशेष भेटिएको प्रारम्भिक अध्ययनले देखाएको छ । बोल्जानो प्रान्तको पुरातत्त्व विभागका निर्देशक क्रिस्टियन टर्जरले गुफाभित्र सयौँ हड्डी रहेको र त्यहाँ कति भालुका अवशेष छन् भन्ने यकिन हुन बाँकी रहेको बताएका छन् ।
वैज्ञानिकहरूका अनुसार यो खोजले हिमयुगमा डोलोमाइट्स र आल्प्स क्षेत्रमा कस्तो वातावरण थियो भन्ने बुझ्न सहयोग पुर्याउन सक्छ । यसअघि कन्टुरिनेस गुफामा भेटिएका अवशेषको अध्ययनले त्यतिबेला अहिलेको तुलनामा तापक्रम बढी हुनसक्ने र रुखहरू उच्च उचाइसम्म फैलिएको हुन सक्ने सङ्केत गरेको थियो ।
नयाँ गुफामा भेटिएका हड्डीले भालुको शारीरिक बनावट, पारिवारिक सम्बन्ध र सामाजिक व्यवहारबारे थप जानकारी दिन सक्ने वैज्ञानिकहरूको अपेक्षा छ । सेन्ट ग्यालेनको प्राकृतिक इतिहास सङ्ग्रहालयकी कशेरुकी जीवाश्म विशेषज्ञ मार्टिना पाचरका अनुसार पूर्ण कङ्काल भेटिएमा यी भालुको वास्तविक स्वरूप पुनर्निर्माण गर्न सहज हुनेछ ।
त्यस्तै, लन्डनस्थित नेचरल हिस्ट्री म्युजियमकी वैज्ञानिक स्पाइरिडुला पाप्पाले हड्डी, दाँत, आनुवंशिक सामग्री र भूगर्भीय संरचनाको अध्ययनबाट हिमयुगीन पारिस्थितिक प्रणालीबारे विस्तृत जानकारी प्राप्त हुन सक्ने बताएकी छन् । गुफाभित्र केही हड्डी ठुला ढुङ्गामाथि एक्लै राखिएको अवस्थामा भेटिनु अर्को रहस्य बनेको छ । ती हड्डी प्राकृतिक प्रक्रियाबाट त्यहाँ पुगेका हुन् वा हजारौँ वर्षअघि मानिसको गतिविधिका कारण त्यस्तो अवस्थामा पुगेका हुन् भन्नेबारे अनुसन्धान हुन बाँकी छ ।
महत्त्वपूर्ण अवशेष नष्ट हुन नदिन पुरातत्त्व विभागले गुफाको प्रवेशद्वारमा ढोका लगाएर सिल गरेको छ । वैज्ञानिक अनुसन्धानका लागि सन् २०२७ को जुनदेखि पुनः गुफाभित्र प्रवेश गर्ने योजना छ ।
यो खोजले हिमयुगमा आल्प्स क्षेत्रमा विचरण गर्ने विशाल जीवजन्तु, तिनको जीवनशैली र त्यस समयको प्राकृतिक वातावरणबारे नयाँ तथ्य उजागर गर्ने अपेक्षा गरिएको छ ।








