अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको बैठकले एन्फाको नियमित साधारणसभाबाट पारित विधानअनुसार २०८३–२०८७ कार्यकालका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको हो।

एन्फा कार्यसमितिको बैठकले निर्वाचन प्रक्रियालाई अगाडि बढाउन आवश्यक स्वीकृति, एकता र सहकार्यका लागि सम्बन्धित पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ। यससँगै लामो समयदेखि विवाद र अन्योलमा रहेको नेपाली फुटबलको नेतृत्व चयन प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ।

बैठकको निर्णयअनुसार २०८३ वैशाख २५ गते सम्पन्न एकताको नियमित साधारणसभाको निर्णय र निर्देशन कार्यान्वयन गर्दै निर्वाचन प्रक्रिया अघि बढाउन लागिएको हो। यसअघि निर्वाचनसम्बन्धी निर्णयलाई संशोधन गर्दै २०८२ पुस १५ गतेको कार्यसमितिको निर्णयअनुसार विधानमा व्यवस्था भएबमोजिम निर्वाचन २०८३–२०८७ को प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको हो। नयाँ नेतृत्व चयनका लागि आवश्यक स्वीकृति, एकता निर्माण, एकता निर्वाचन प्रक्रिया तथा संघको स्वतन्त्रता र संस्थागत निर्णय कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग सहकार्य र समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले निर्वाचनको मिति भने सार्वजनिक गरिसकेको छैन।

एन्फाले निर्वाचन प्रक्रियासँगै संस्थाभित्र देखिएका विवाद र असमझदारी समाधानका लागि पनि पहल गर्ने निर्णय पनि गरेको छ। कार्तिक १३ गते सम्पन्न कार्यसमितिको बैठकले लिखित रूपमा मागेको जवाफ अध्यक्ष र महासचिवको कार्यसमितिलाई तीन दिनभित्र उपलब्ध नभएपछि पुनः तीन दिनभित्र स्पष्ट विवरण पेस गर्न अनुरोध गर्ने निर्णय गरेको छ। यस्तै, एन्फा कार्यसमितिको निर्णयअनुसार निमित्त महासचिव दामोदर भट्टराईलाई संघको कार्यालय सञ्चालन, पत्राचार, समन्वय समिति तथा कार्यसमितिका निर्णय कार्यान्वयन र नियमित प्रशासनिक गतिविधि सञ्चालनका लागि आवश्यक अधिकार प्रदान गरिएको छ।

बैठकले नेपाली फुटबलको तल्लो तहको विकासलाई समेत प्राथमिकता दिएको छ। यू–१५ नेपाली फुटबल टोलीलाई फिफा यू–१५ च्याम्पियनसिपमा प्रस्तुत गरेको प्रदर्शनका आधारमा सम्मान गर्ने तथा आगामी प्रतियोगिताको तयारीका लागि यू–१५ फुटबल आयोजना गर्ने निर्णय गरेको छ। उक्त प्रतियोगिता सञ्चालनको जिम्मेवारी उपाध्यक्ष विराटजंग शाहीको संयोजकत्वमा रहेको कार्यसमितिलाई दिएको छ। यसैगरी, स्थगित अवस्थामा रहेको एकेडेमी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, एकेडेमीको अवस्था र सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमको प्रतिवेदन पेस गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

फिफा यू–१२ फेस्टिभलमा सहभागी भई उत्कृष्ट नतिजा निकाल्न सफल खेलाडी र प्रशिक्षकलाई जनही ५० हजार तथा अफिसियललाई जनही ३० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णयसमेत एन्फाले गरेको छ। १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबलतर्फका प्राविधिक विषयमा समन्वय गरी प्रतियोगिता सफल बनाउन सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय