ताप्लेजुङ । नेपाल–चीन सीमा क्षेत्र टिपताला भञ्ज्याङमा बाक्लो हिमपातका कारण बाटो बन्द हुँदा चीनको डिङजे काउन्टी पुगेका ७ जना नेपाली उतै रोकिएका छन्।
फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका ५ महिला र २ पुरुष हिमपातका कारण नेपाल फर्कन नसकेका हुन्। उनीहरू गत कात्तिक ९ गते आफन्त भेट्न चीनको रिउ पुगेका थिए। त्यही समयमा हिमपात सुरु भएपछि उनीहरू उतै रोकिएका हुन्।
स्थानीय वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार चीनतर्फ केही स्थानमा एक्स्काभेटरलगायतका उपकरण प्रयोग गरी हिउँ पन्छाइए पनि सीमा क्षेत्रको बाटो अझै खुल्न सकेको छैन। नेपालतर्फ हिउँ हटाउन आवश्यक मेसिन तथा उपकरण नहुँदा आवतजावत सहज हुन नसकेको उनले बताएका छन्।
हिउँमा बाटो अवरुद्ध भएपछि ल्हामु शेर्पा, लोप्साङ शेर्पासहित सात जना चीनमै बसिरहेका छन्। उनीहरूलाई स्थानीय सरकारले निःशुल्क बसोबासको व्यवस्था मिलाएको वडाध्यक्षले जानकारी दिएका छन्।
पछिल्ला दिनमा मौसम खुलेर घाम लाग्न थालेपछि हिउँ पग्लिने र बाटो सञ्चालनमा आउने आशा गरिएको छ। तर आवश्यक उपकरणको अभावमा उनीहरू कहिले नेपाल फर्कन पाउँछन् भन्ने अझै निश्चित भएको छैन।








