काठमाडौं । भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को ‘अफसोर’ क्याम्पस स्थापना गर्ने भएको छ। साथै, नेपाल र भारतबीच एकअर्काको देशमा बसोबास गर्ने नागरिकलाई बैंकिङ तथा दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने सहमति भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा जारी संयुक्त वक्तव्यमा शिक्षा, प्रविधि तथा सेवा सहजीकरणसम्बन्धी सहमति सार्वजनिक गरिएको हो।
संयुक्त वक्तव्यअनुसार नेपालमा आईआईटीको क्याम्पस स्थापना गर्न दुवै देशका प्रधानमन्त्री सहमत भएका छन्। यसबाट नेपालको उच्च शिक्षा, प्राविधिक जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधि, स्टार्टअप, डिजिटल तथा वित्तीय कनेक्टिभिटीका क्षेत्रमा भइरहेको सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
त्यसैगरी, एकअर्काको देशमा बसोबास गर्ने नागरिकलाई बैंकिङ, टेलिकमलगायतका सेवामा सहज पहुँच उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने सहमति भएको छ।
यी सहमतिलाई नेपाल–भारतबीचको शैक्षिक, प्राविधिक तथा आर्थिक सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।








