डीआर कङ्गो । डेमोक्र्याटिक रिपब्लिक अफ (डीआर कङ्गो) मा फैलिएको इबोला प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक बनेको छ ।
रोग पहिचानमा भएको ढिलाइ, सशस्त्र द्वन्द्व, मानिसहरूको आवतजावत र स्वास्थ्यकर्मीप्रति समुदायमा रहेको अविश्वासका कारण भाइरस नियन्त्रण गर्न झन् कठिन भइरहेको छ । स्वास्थ्य अधिकारी तथा अन्तर्राष्ट्रिय निकायका अनुसार प्रकोप घोषणा भएको करिब तीन महिनामै ४ हजार ९ सयभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने २ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यो सङ्ख्या सन् २०१८–२०२० को इबोला प्रकोपमा मृत्यु भएका २ हजार २९९ जनाभन्दा बढी हो । उक्त प्रकोप जायर स्ट्रेनका कारण भएको थियो ।इटुरी प्रान्तको मङ्ग्बवालु जनरल अस्पतालका चिकित्सक रिचर्ड लोकुडुले अस्पतालमा उपचार गरिएका एक बिरामीबाट आफूहरूले प्रारम्भिक संकेत पाएको बताएका छन् । अप्रिलको सुरुवातमा शल्यक्रियाका लागि अस्पताल भर्ना भएका ती बिरामीको उपचारमा संलग्न टोलीका तीन सदस्यको केही दिनको अन्तरालमा मृत्यु भएपछि चिकित्सक लोकुडुलाई इबोला पहिल्यै फैलिरहेको हुनसक्ने शङ्का लागेको थियो ।उक्त बिरामीको अप्रिल ७ मा शल्यक्रिया गरिएको थियो । त्यसको करिब एक महिनापछि शल्यक्रिया सहायक, एनेस्थेसियोलोजिस्ट तथा शल्यक्रियापछिको हेरचाहमा संलग्न एक स्वास्थ्यकर्मीको मृत्यु भएको थियो ।
तर सरकारले औपचारिक रूपमा मे १५ मा मात्र इबोला प्रकोप घोषणा गरेको थियो । स्वास्थ्य अधिकारीहरूका अनुसार त्यसबेलासम्म भाइरस समुदायमा फैलिइसकेको थियो र सङ्क्रमणका श्रृङ्खला विस्तार भइसकेका थिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार प्रकोप सुरुमा इटुरीको मङ्ग्बवालु स्वास्थ्य क्षेत्रमा केन्द्रित थियो । पछि यो अन्य क्षेत्रमा समेत फैलियो ।
दुर्लभ स्ट्रेन, खोपसमेत उपलब्ध छैन
यसपटकको प्रकोप बुन्डिबुग्यो भाइरस रोग (बीभीडी) का कारण भएको हो । यो इबोलाको दुर्लभ प्रकार हो, जसको पहिलो पहिचान सन् २००७ मा युगान्डामा भएको थियो । जायर स्ट्रेनको तुलनामा बुन्डिबुग्यो भाइरसविरुद्ध हालसम्म लाइसेन्स प्राप्त खोप वा विशेष स्वीकृत उपचार उपलब्ध छैन । त्यसैले स्वास्थ्यकर्मीहरूले सङ्क्रमणको प्रारम्भिक पहिचान, सहयोगात्मक उपचार, सङ्क्रमण रोकथामका उपाय र समुदायको सहभागितामा जोड दिइरहेका छन् ।
परीक्षणमा ढिलाइले बढायो जोखिम
डीआर कङ्गोका ‘इबोला रेस्पोन्स’ प्रमुख प्राध्यापक पिएर अकिलिमालीका अनुसार प्रकोपको सुरुवाती चरणमा इटुरीमै पर्याप्त प्रयोगशाला सुविधा थिएन । उनका अनुसार बाहिरी क्षेत्रमा रहेका प्रयोगशालामा निर्भर रहनुपर्दा सङ्क्रमण पुष्टि गर्न समय लागेको थियो । अहिले भने इटुरीमा १२ भन्दा बढी प्रयोगशाला सञ्चालनमा आइसकेका छन् ।
स्वास्थ्य अधिकारीहरूले सङ्क्रमित पहिचानमा भएको प्रारम्भिक ढिलाइले भाइरसलाई समुदायमा फैलिन थप वातावरण सिर्जना गरेको स्वीकार गरेका छन् ।
युद्धग्रस्त क्षेत्रमा स्वास्थ्यकर्मीको संघर्ष
इबोला नियन्त्रणको प्रयास भइरहेको इटुरी प्रान्त दशकौँदेखि सशस्त्र द्वन्द्वको चपेटामा छ । खनिजसम्पन्न क्षेत्रमा नियन्त्रणका लागि विभिन्न सशस्त्र समूहबीच हुने संघर्षका कारण स्वास्थ्यकर्मी तथा उद्धार टोलीलाई प्रभावित समुदायसम्म पुग्न कठिन भइरहेको छ ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले निगरानी, प्रयोगशाला परीक्षण, सङ्क्रमण रोकथाम, बिरामीको उपचार तथा समुदायसँगको समन्वयमा सहयोग गरिरहेको छ । डीआर कङ्गोमा इबोला रेस्पोन्सका लागि अफ्रिका सीडीसीका फिल्ड इन्सिडेन्ट म्यानेजर डा. जस्टस नसियोले इटुरीको अवस्था निकै चुनौतीपूर्ण रहेको बताएका छन् । उनका अनुसार यो क्षेत्र युद्धग्रस्त हुनुका साथै राज्यद्वारा विशेष सुरक्षा व्यवस्था लागू गरिएको क्षेत्र पनि हो ।
बिरामीको आवतजावतले फैलिँदै संक्रमण
डब्ल्यूएचओका अनुसार प्रभावित क्षेत्रहरूबीच मानिसहरूको अनियन्त्रित आवतजावत पनि भाइरस फैलिनुको प्रमुख कारण बनेको छ । डीआर कङ्गोमा बुन्डिबुग्यो भाइरस रोगसम्बन्धी डब्ल्यूएचओका इन्सिडेन्ट म्यानेजर डा. थियर्नो बाल्डेले विशेषगरी बिरामी मानिसहरू प्रभावित क्षेत्रबाट छिमेकी क्षेत्रमा आवतजावत गर्दा सङ्क्रमण फैलिएको बताएका छन् । यसले इबोला नियन्त्रणलाई स्वास्थ्य क्षेत्रमा मात्र सीमित चुनौती नभई सुरक्षा, यातायात र मानवीय पहुँचसँग जोडिएको समस्या बनाएको छ ।
स्थानीय बासिन्दामा त्रास
इटुरीका बासिन्दाका लागि इबोला सङ्क्रमणको तथ्याङ्कभन्दा पनि आफन्त गुमाउनु ठूलो त्रास बनेको छ । बुनियाबाट करिब १० किलोमिटर टाढा रहेको र्वाम्पारामा आफ्ना काकाको इबोलाका कारण मृत्यु भएको ३५ वर्षीया फुराहा जिसेलले आफूहरू एकैपटक असुरक्षा, कमजोर शासन, गरिबी र घातक महामारीसँग जुधिरहेको बताएकी छन् ।
स्वास्थ्यकर्मीहरूका लागि पनि अवस्था अत्यन्त जोखिमपूर्ण छ । बुनियाबाट करिब ४० किलोमिटर दक्षिणपश्चिममा रहेको न्याकुन्डे अस्पतालका प्रमुख डा. चाल्र्स काशिन्डीका अनुसार गोली चलेका बेला स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा आफ्नो जिम्मेवारीमा बसिरहन सक्दैनन् ।
त्यसैले डीआर कङ्गोमा इबोला नियन्त्रणको लडाइँ भाइरसविरुद्धको चिकित्सकीय संघर्ष मात्र नभई युद्ध, असुरक्षा, कमजोर पुर्वाधार, ढिलो पहिचान र समुदायको अविश्वासविरुद्धको संघर्ष समेत बनेको छ ।






