काठमाडौँ। नवगठित जय नेपाल पार्टीका सभापति डा. धवलशमशेर राणाले राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको बताएका छन् ।

बिहीबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा राजनीतिक कार्यपत्र पेस गर्दै सभापति राणाले यस्तो बताएका हुन् ।‘राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ’, राणाको कार्यपत्रमा भनिएको छ, ‘त्यसैले राष्ट्र, राष्ट्रियताकाे महत्त्व उजागर गर्न,नेपालको गौरवमय विरासत निरन्तर राख्न, तथा राष्ट्रवादको एजेन्डा बचाउन र बढाउन जय नेपाल पार्टीको छातामुनि हामी गोलबद्ध हुनुपर्ने ऐतिहासिक अवसर सिर्जना भएको छ ।’सभापति राणाले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रका बलियो जगमा उभिएर देश र जनताको मुद्दा र एजेन्डा इमानदारीका साथ अघि बढाउनु अपरिहार्य भएको पनि बताएका छन् । ‘जसअनुरूप, राष्ट्रियता र एकताको आधार संवर्द्धन गर्दै, ऐतिहासिक विरासत नयाँ पुस्ता र भावी पुस्तामा सुरक्षित हस्तान्तरण गर्न हामी प्रतिबद्ध छौँ’, राणाले भनेका छन् ।

उनले आफ्नो पार्टीले शान्त, समुन्नत, आत्मनिर्भर र सभ्य नेपाल निर्माण गर्ने पवित्र लक्ष्य तय गर्न, स्पष्ट नीति र कार्ययोजनाको बलमा द्रुततर गतिमा सङ्गठन निर्माण गर्ने दाबी समेत गरेका छन् ।

‘जनअपेक्षालाई ऊर्जा र प्रेरणाको स्रोत मान्ने छाैँ र जे भन्छौँ त्यही कुरा व्यवहारमा लागू गर्नेछौँ’, राणाको भनाइ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय