काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत्तिका बेला राजनीतिक मतभेद थाती राखेर राष्ट्रिय एकताका साथ उद्धार,राहत र पुनःस्थापनामा जुट्न आह्वान गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले अहिले देश गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै लामो राजनीतिक बहस र आग्रह–पूर्वाग्रहमा अल्झिने समय नभएको बताएका हुन्।

उनले सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी,उद्धार र राहतमा जुट्नुपर्नेमा जोड दिए। ‘विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस्’ भन्ने साझा संकल्प गर्नुपर्ने उनको भनाइ छ।

प्रचण्डले पछिल्ला विपत्तिहरूलाई सामान्य प्राकृतिक घटना मात्रै भनेर बुझ्न नहुने बताए। नेपालको भौगोलिक अवस्थाका कारण बाढी,पहिरो र भूकम्पजस्ता विपत्ति नियमित भए पनि पछिल्ला घटनाको प्रकृति,तीव्रता र प्रभाव जलवायु परिवर्तन,हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा बदलिँदो प्राकृतिक अवस्थासँग जोडिएको उनको भनाइ छ।

उनले तत्काल उद्धार र राहतसँगै विपद्को दीर्घकालीन जोखिम न्यूनीकरणका लागि वैज्ञानिक,प्राविधिक र नीतिगत अध्ययन गरी राष्ट्रिय रणनीति बनाउनुपर्ने जोड दिए।

प्रचण्डले सरकार,राजनीतिक दल र सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गरी साझा कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताए। साथै,सम्बन्धित छिमेकी मुलुकसँग तत्काल समन्वय गरी उपलब्ध सूचना तथा पूर्वसूचना संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

विशेषगरी हिमाली क्षेत्रमा विपद्को जोखिम र पूर्वसूचना प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउन छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य आवश्यक रहेको उनले बताए।

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका समस्यालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारीरूपमा उठाउनुपर्ने पनि प्रचण्डको भनाइ थियो। उनले जलवायु न्याय,क्षतिपूर्ति र अन्तर्राष्ट्रिय सहयोगको प्रश्नलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताए।

विपत्तिका बेला नेपाली समाज र राजनीतिक शक्तिहरू एकताबद्ध भएर संकटको सामना गरेको इतिहास रहेको स्मरण गर्दै प्रचण्डले कोशी बाढी,सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पलगायतका घटनामा देखिएको राष्ट्रिय एकतालाई अहिले पनि निरन्तरता दिनुपर्ने बताए।

रसुवाको भोटेकोशी बाढीले सिर्जना गरेको संकटबाट पार पाउन आफ्नो पार्टीले सरकारलाई पूर्ण साथ र सहयोग गर्ने उनले बताए। पार्टीले बैठक बसेर उद्धार, राहत तथा सहयोगका काममा सरकारी निकायसँग समन्वय गरी पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिइसकेको जानकारी पनि उनले दिए।

‘विपत्तिका बेला राजनीतिक मतभेदलाई केही समय थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्छ,’प्रचण्डले भने।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय